हँसाउन सफल तर डराउन असफल चलचित्र रुही

काठमाडाैं । सुरज पर मङ्गल भारी, म्याडम चिफ मिनिस्टर जस्ता चलचित्र पश्चात् चलचित्र घरमा बलिउड चलचित्र रुही प्रदर्शनमा आएको छ ।चलचित्रको कथामा भवरा (राज कुमार राव) र कट्टनी (वरुण शर्मा) आफ्ना मालिकको आदेश अनुसार युवतीहरूको अपहरण गरेर जवर्जस्ती विवाह गरिदिने गर्छन् ।

योजनाअनुरूप नै भवरा र कट्टनी अस्पतालबाट बाबुसँग निस्किँदै गरेकी रुही (जान्हवी कपूर) को अपहरण गर्छन् । तर केटा घरमा घटेको शोकको घटनाका कारण विवाह हुन सक्दैन । यही बिच दुई युवतीलाई सहरको एउटा कुनामा लुकाएर राखिन्छ । यही क्रममा भवराको रुहीसँग माया बस्छ । कहानीमा ट्वीस्ट तब आउँछ, जब भवराले थाहा पाउँछ की रुहीको शरीरमा आफ्जाको आत्मा हुन्छ । आफ्जाको मृत्यु भैसकेको छ र उ चुडेल बनेकी छ । कट्टानी समेत प्रेममा पर्छन् ।

समग्रमा हरर कमेडी विधाकाे याे चलचित्र दर्शक हँसाउन सफल भएको छ भने डराउनमा असफल ।

चलचित्रको विषयवस्तु आफैमा राम्रो छ । तर प्रस्तुति यस्तो बनेको छ की डराउने दृश्यमा दर्शक हाँस्छन् । मध्यान्तरसम्म चलचित्र ढिलो अघि बढ्छ । मध्यान्तर पश्चात् भने चलचित्रले केही गति लिन्छ । हँसाउने दृश्यमा त राजकुमार र वरुण सफल छन् । तर डराउने दृश्यमा भने डर अलिकति पनि देखिँदैन । बरु त्यहाँ पनि दर्शकले कमेडी नै पाउँछन् ।

राजकुमारले चलचित्रभरी नै ‘त’ लाई ‘ट’ उच्चारण गर्छन् । वरुणले हाउभाउको कारण दर्शक हँसाउन सफल छन् । संवाद कम भए पनि जान्हवीको दोहोरो भूमिका राम्रो छ । तर शीर्षकमा कब्जा गरेकी उनको उपस्थिति भने हुनुपर्ने भन्दा फितलो लाग्छ । मुख्य ३कलाकारको तुलना गर्दा वरुण अभिनयमा अब्बल देखिएका छन् ।

चलचित्रमा जान्हवीको नृत्य राम्रो छ, यसले दर्शकलाई भड्किन दिँदैन । हरर दृश्यमा समेत मेहनत गर्न सकेको भए चलचित्र उम्दा बन्ने थियो ।

हार्दिक मेहताले निर्देशन गरेकाे चलचित्र २ घण्टा १४ मिनेटको छ । चलचित्र दिनेश विजन र मृगदीप सिंह लाम्बाले निर्माण गरेका हुन् ।
(भारतीय संचारमाध्यमको सहयोगमा)

प्रतिक्रिया