‘लप्पन छप्पन २’ किन ?

  •   दिक्षा कट्टेल

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ यही चैत्र २७ बाट प्रदर्शनमा आउँदैछ । मुकुन्द भट्टको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शनका लागि निर्माताले जोखिम उठाउँदैछन् । नेपाली चलचित्र उद्योगको सन्दर्भमा करिब ४ करोड लगानीमा निर्माण भएको चलचित्रलाई सामान्य अवस्थामा नै प्रदर्शन गर्दासमेत लगानी उठाउन हम्मेहम्मे नै पर्ने गर्छ ।

कोरोना भाइरसको कारण शिथिल चलचित्र जगतमा यसको लगानी उठाउन निर्माताले जोखिम लिएकै हुन् । विश्व स्वास्थ्य सङ्गठनले ५० प्रतिशत दर्शकमात्रै राखेर हल सञ्चालन गर्न सकिने बताएको छ । यसै पनि दर्शकको उपस्थिति न्यून रहेको अवस्थामा दर्शकलाई चलचित्र मनै परे पनि हेर्न नपाउने स्थिति आउने देखिन्छ ।

प्रदर्शन अगाडि चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रसँग सम्बन्धित व्यक्ति सँगसँगै अन्य चलचित्रका हस्तिहरूको समेत उपस्थिति रहेको थियो । भुवन केसी, प्रशान्त ताम्राकार र निश्चल बस्नेत यो चलचित्रमा नभएपनि ट्रेलर सार्वजनिक कार्यक्रममा भने देखिएका थिए ।

तस्बिर : सुरेन्द्र थापा

केसीले चलचित्र प्रदर्शनको विषयमा नेपाल सरकारले शतप्रतिशत दर्शक राख्ने व्यवस्था ल्याउनुपर्नेमा जोड दिए । प्रशान्तले टिमलाई सफलताको शुभकामना दिँदै हलवालाले सावधानी अपनाउँदै चलचित्र हल सञ्चालन गर्नुपर्ने बताए भने निश्चल बस्नेतले अब आउँदो एक वर्ष व्यक्तिगत ‘वैमनस्यता’ बिर्सिएर चलचित्रकर्मीले एक अर्कालाई साथ दिनुपर्नेमा जोड दिए । सरकारभन्दा पनि चलचित्र विकास बोर्डले चलचित्रको मुद्दा सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।

‘लप्पन छप्पन २’  नेपालीसहित अन्य ६ भाषामा आउन लागेको चलचित्र हो । चीनका हलहरूमा नै चलचित्र लगाउने तयारी रहेको निर्देशक भट्टले बताए । अन्य भाषामा भने सम्भव भएसम्म हलमा जाने अन्यथा डिजिटल माध्यमबाट चलचित्र प्रदर्शन गर्ने तयारी छ । चलचित्र एक साथ नेपाली, हिन्दी, तेलुगु, तामिल, चाइनिज र भोजपुरी भाषामा प्रदर्शनमा आउन लागेको हो । केजीएफ चलचित्रको उदाहरण दिँदै भट्टले आफूले चलचित्रलाई विदेशी बजारमा पुर्‍याउन सानो प्रयास गरेको बताएका छन् ।

‘लप्पन छप्पन’ चलचित्रका निर्देशक भट्ट स्वयंले चलचित्र आफूले सोचेको जस्तो नभएको बताए । तथापि पहिलो चलचित्रमा उनकै पहलमा नेपाली चलचित्र छायाङ्कनका लागि विदेशी लोकेसनमा पुगेको थियो । पाँच वर्षअघि बनेको चलचित्रमा एक करोड ६० लाख आसपास खर्च भएकोमा समेत खर्च अभावले चलचित्र राम्रो बन्न नसकेको बताउँदै भट्टले पहिलो पटक छायाङ्कनका लागि विदेश जाँदै गर्दा छायाङ्कनका अप्ठ्यारालाई समेत समेट्न नसकिएको स्वीकारे । तथापि पहिलो चलचित्रको कमि–कमजोरी स्वीकार्दै यो चलचित्र राम्रो बनाउन लागी परेको उनी बताउँछन् । एक्सन जन्रा मन पराउने उनले चलचित्रमा गीत र महिला कलाकारलाई खासै स्थान दिन नसकेको समेत स्वीकारे ।

अधिकांश निर्माताले तयारी चलचित्र समेत प्रदर्शन गर्न हिम्मत गरेका छैनन् । अघिल्लो वर्ष नै प्रदर्शनका लागि तयार चलचित्र प्रेम गीत ३, चपली हाइट ३, म यस्तो गीत गाउँछु २ लगायत चलचित्रका निर्माता पर्ख र हेरको स्थितिमा छन् । चलचित्र ए मेरो हजुर ४ त दसैँ छेको मिति लिएर बसेको छ । यहीबीच यो चलचित्रको टिमले उक्त कदम उठाएको छ । विदेशी चलचित्र कुरेर दर्शक हलमा आउने माहौल बनेपछि मात्रै नेपाली चलचित्र लगाउला भनेर बसेका निर्माताको भीडमा यो चलचित्र भिन्न बन्न पुग्यो ।

तस्बिर : सुरेन्द्र थापा

निर्देशक भट्ट हलमा दर्शक पूरै राख्न नमिले पनि चलचित्र प्रदर्शनको मिति परिवर्तन नहुने बताउँछन् । लगानी नउठ्ने डरमा भारतीय चलचित्र अक्षयकुमार अभिनित चलचित्र अप्रिल २ मा प्रदर्शन नहुने पक्का भएको छ भने यता नेपाली निर्माता ठूलो बजेटको चलचित्र प्रदर्शन गर्न राजी छन् ।

चलचित्रमा अग्रज कलाकार दीपक क्षेत्रीलाई समेत देख्न सकिन्छ । छायाङ्कनको हिसाबले अन्तिम नभए पनि प्रदर्शनको हिसाबले उनको यो अन्तिम चलचित्र रहेको छ । धेरै नेपाली तथा भारतीय चलचित्रमा अभिनय गरेका कलाकार छेत्रीको अघिल्लो वर्षको मङ्सिर २८ गते निधन भएको थियो ।

काममा मज्जा आउने बताउँदै कलाकार सौगात मल्लले अन्य कामहरूमाझैं यो काममा समेत ‘इन्जोय’ गरेको बताएका छन् ।

जनरातर्फ सङ्केत गरिएको प्रश्नमा उनले रमाइलो गर्दै शरीरमा रगत नआएसम्म के नपुगेको के नपुगेको जस्तो लाग्ने बताए ।

तस्विर : सुरेन्द्र थापा

अर्का कलाकार अनूपले भने यस चलचित्रको कामलाई ‘च्यालेञ्ज’ को रूपमा लिएका छन् । भिन्न काम भयो भने बल्ल कलाकारले आफ्नो क्षमता देखाउन पाउने बताउँदै उनले यो च्यालेञ्जलाई स्वीकारेका हुन् । यस चलचित्रका काठमाडौं वितरक गोविन्द शाही र निर्माता प्रकाशसमेत अभिनयमा देखिँदैछन् ।

दुःखद् पाटो एक वर्षसम्म सुनसान रहेको चलचित्र हलमा उक्त दिन ३ नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । लप्पन छपन २ तिनै दुई नेपाली चलचित्र कृष्ण लीला र मनसँग जुध्नुपर्नेछ । भुवन, प्रशान्त, निश्चललगायतका कलाकारले त एक अर्काको चलचित्रलाई सहयोगको हात अघि बढाएका छन् । निर्माता तथा वितरकले समेत यस विषयमा ध्यान दिन सके चलचित्र क्षेत्र चलायमान हुन केही सहज हुने थियो ।

प्रतिक्रिया