नयाँ सरकार निर्माणमा देउवाको ‘अग्रसरता’ : जसपालाई बुढानीलकण्ठमा निम्तो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार अपराह्न ४ बजे देउवाले आफूहरुलाई निवास बुढानीलकण्ठ मै बोलाएको जसपाका अध्यक्ष उपेन्द्र यादवले मकालु खबरलाई जानकारी दिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अध्यक्ष यादवले बताए । ‘समसामयिक विषयमा नै छलफल हुने हो,’ अध्यक्ष यादवले भने, ‘वर्तमान राजनीतिको सन्दर्भमा विशेष छलफल हुन्छ ।’

सत्ता समीकरणमा निर्णायक देखिएको जसपासँगको कांग्रेसको छलफललाई देउवाकाे अग्रसरताका रुपमा हेरिएको छ ।  वर्तमान सरकार टिकाउने वा विस्थापित गर्ने भन्ने सन्दर्भमा यतिबेला जसपा निर्णायक देखिएको छ ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्व स्वीकार्न तयार रहेपछि जसपालाई मनाउन सके कांग्रेस नेतृत्वमा सरकार बन्नेछ । सत्ता समिकरणको चावि बोकेको जसपालाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छलफल तिब्र बनाएका छन् ।

पछिल्लो समय कांग्रेसले भने वर्तमान सरकार विस्थापन गर्ने र सके आफ्नै नेतृत्वमा सरकार गठन गर्ने मनसाय बनाएको छ । कांग्रेसको यही रणनीतिलाई बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासामु गुहार मागेको विश्लेषण हुन थालेको छ । यही प्रयासस्वरुप प्रधानमन्त्री ओलीले बिहीबार जसपा शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका थिए ।

तत्पश्चात् बालुवाटार पुगेका चार नेताहरुले तीन शर्त अगाडि बढाएका थिए । कैदीबन्दी नेताको रिहाइ, संविधान संशोधनलगायतका आफ्नो शर्तमा ओली सकारात्मक बनेको ती नेताहरुले ब्रिफिङ्ग गेका छन् । तर, संघीय अध्यक्ष डा. बाबुराम भट्टराई भने बालुवाटार गएका थिएनन् ।

सरकार गठनको सन्दर्भमा अहिलेसम्म सभापति देउवा मौन थिए । तर, अहिले भने देउवाले सक्रियता देखाउन थालेका छन् । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभापति देउवासँग नयाँ सरकार गठनको कसरतबारे छलफल गरिसकेका छन् ।

प्रतिक्रिया