रंगिला स्टार उर्मिलाको १२ वर्षपछिको ‘कमब्याक’

एजेन्सी । ‘रंगिला’ चर्चित बलिउड नायिका उर्मिला मातोडकरले १२ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएकी छन् । उनले एक अन्तर्वार्तामा आफू नयाँ चलचित्रमार्फत् आउन लागेको जानकारी दिएकी हुन् । यसका साथै आफू एक वेब शोमा देखिने तयारी समेत गरेको उनले बताएकी छन् ।

उनी सन् २००८ मा बनेको चलचित्र ‘इएमआई’ मा मुख्य भूमिकामा अन्तिम पटक देखिएकोमा अब भने ठूलो पर्दामा देखिन लागेकी हुन् । २०१९ मा राजनीतिमा प्रवेश गरेकी थिइन् भने राजनीतिमा सक्रिय रहेर पनि अभिनय भने नछाड्ने बताउँदै आएकी थिइन् ।

उर्मिलाले एक वेब सिरिजमा काम सुरु गर्न लागेकी थिइन्, कोरोना संक्रमणका कारण उक्त प्रोजेक्ट अघि बढ्न सकेन । स्क्रिप्ट मन परेर अनुबन्धित भएको बताउने उनले छायाङ्कनमा जानै लाग्दा सिरिज विषम परिस्थितिका कारण रोकिएको बताएकी छन् । यो सिरिज सुरु हुने दिन पक्का नभएकाले उनले अर्को चलचित्रमा काम गर्न लागेको बताएकी हुन् ।

आफैँलाई मन परेमा र केही नयाँपन दिन सक्ने भएमात्रै नयाँ काममा हात हाल्ने उनले बताएकी छन् । उनी आफ्ना दर्शकका लागि केही नयाँ पन दिनुपर्ने बताउँछिन् । उर्मिलाले अहिलेसम्म चमत्कार, रंगिला, सत्या, भूतलगायत चलचित्रमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया