पूजा-वर्षाको देशदेखि विदेशसम्मको मित्रता

काठमाडौँ । मनोरञ्जन क्षेत्रमा न मित्रता दिगो देखिन्छ न त शत्रुता नै । हिजो पानी बाराबार गर्नेहरू आज एउटा थालमा खाएको देख्दा अचम्म मान्नै पर्दैन ।  किनकी यो त यस क्षेत्रको विशेषता नै भइसक्यो ।

नायिका पूजा शर्मा र सुस्मा कार्कीको सम्बन्ध त सबैलाई थाहै छ । नायिका वर्षा सिवाकोटी समेत आफ्नो यस क्षेत्रमा कोहीसँग कुरा नमिल्ने भन्दै हिँड्ने गर्थिन् ।  तर अहिले भने पूजा र वर्षाको मित्रता खुबै झांगिएको देख्न सकिन्छ ।

छुच्चो छवि बनाएकी पूजा र एक्लिएको भन्ने वर्षाको निकटता गज्जब छ ।  हरेक साँझ एक साथ भेटिने यी दुईलाई देशमा मात्रै होइन‚ विदेशमा समेत सँगै रहने रहर जागेछ । चलचित्र छायाङ्कनका लागि पूजा दुबई उडिन् भने व्यक्तिगत काम बताउँदै वर्षा समेत उतै उडिन् ।

यसै पनि सानो क्षेत्र छ ।  नायिकाहरूबीच काममा अर्कोलाई लिएको भन्दै शीतयुद्ध समेत हुने गरेको छ । पत्रकार प्रकाश सुवेदी र चलचित्रकर्मी दिपाश्री निरौलाको भाइटिका लगाएको सम्बन्धसमेत एकै पटकमा ध्वस्त भयो ।  यो त उदाहरण मात्रै हो यस्ता घटना धेरै छन्।

यस्तोमा कति टिक्ला त दुई नायिका पूजा-वर्षाको मित्रता ? कि त उनीहरूले जवाफ दिनेछन् कि त समयले ।

प्रतिक्रिया