प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले दिएको जानकारीअनुसार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी खारेज गरी पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक डाकेका हुन् । गुरुङका अनुसार साेमबार बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो ।

नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि आइतबार पहिलो पटक बैठक बसेको थियो ।

सो बैठकमा सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड-नेपाल समूहका सांसदहरुले विरोध जनाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक बुधबार बस्दैछ ।

प्रतिक्रिया