११ लाख घुस लिने महिला हवल्दार पक्राउ

काठमाडौँ । थुनुवालाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दार पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार ताराकुमारी श्रेष्ठलाई घुस वापत लिएको नगद रकमसहित नियन्त्रणमा लिएको हो ।

भन्सार चोरी निकासीको अभियोगको हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाउनका लागि लिएको घुस रकमसहित हवल्दार श्रेष्ठ पक्राउ परेकी हुन् । उनीसँगै चाबहिलका एक क्याफेका सञ्चालक अनिश जोशी पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

आयोगको टंगालबाट खटिएको टोलीले श्रेष्ठ र जोशीलाई नगद ११ लाख रुपैयाँसहित आइतबार साँझ नियन्त्रणमा लिएको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया