‘म्यानचेस्टर डर्बी’ भिडन्तमा युनाइटेडको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको ‘म्यानचेस्टर डर्बी’ भिडन्तमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले सिटीलाई २-० गोलअन्तरले हराएको हो ।

युनाइटेडसँग सिटी आफ्नै मैदानमा पराजित भएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र लुक शोले गोल गरे । खेलको सुरुवातमै युनाइटेडले पेनाल्टी पाएको थियो । खेलको पहिलो मिनेटमा नै एन्थोनी मार्सियललाई डिबक्सभित्र सिटीका गाब्रियल जिससले लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट फर्नान्डेजले गोल गर्दै सिटीविरुद्ध युनाइटेडलाई १-० गोलको अग्रता दिलाए ।

पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ५० औं मिनेटमा लुक शोले गोल गर्दै युनाइटेडलाई २-० गोलको जित दिलाए ।

यो हारसँगै सिटीले लगातार २२ औं खेलमा जित निकाल्ने मौका गुमाएको छ । सिटीले यसअघिसम्म २१ औं खेलसम्म लगातार जित निकाल्दै कीर्तिमान कायम गरेको थियो। सिटीलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको युनाइटेडले अंक दूरी पनि घटाएको छ ।

दोस्रो स्थानमा उक्लिएको युनाइटेडको २८ खेलबाट ५४ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ । अझै युनाइटेड भन्दा सिटी ११ अंकले अघि छ ।

प्रतिक्रिया