ओलीलाई नेपालको आग्रह– राजीनामा दिएर थोरै भएपनि नैतिकता बचाउनुस् [भिडिओसहित]

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैँले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधि सभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे । ‘कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विर्सजन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निराश हुँदैनौँ । केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो । यो पार्टी मात्रै होइन, संसद्मा भएका राजनीतिक दलहरु पनि आन्दोलनमा उत्रिए ।’

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया