अपाङ्गता भएका व्यक्तिको सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौँ । अपाङ्गता भएको व्यक्तिहरूको क्षमता र प्रतिभा निखार्दै फरक चिनारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज डिसेबिलिटी क्विन २०२१’  हुने भएको छ । प्रतियोगिता सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको आयोजनामा हुन लागेकाे हाे ।

प्रतियाेगिताबारे जानकारी दिन आयाेजित कार्यक्रममा काठमाडौँ लायन्स क्लब आफ काठमाडौँ क्यापिटलका पूर्व अध्यक्ष तथा समाजसेवी किशोरभक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए ।

त्यस्तै ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौलले अपाङ्गता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको अपाङ्गता भएका व्यक्तिले भरपुर उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिहरूको सांस्कृतिक समाज नेपाल (सी.एम.पी.डी नेपाल)का सभापति सरिता थुलुङले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि ल्याउन मद्दत पुग्ने भएको आफूले सहकार्य गरेको बताइन् ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरीयोग्राफी रहनेछ । प्रतियोगितामा शीर्ष सहित विभिन्न उपविधामा विजेता छानिने र विजेताले विभिन्न पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया