मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ ।

मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै सार्वजनिक सूचनामार्फत काठमाडौंका स्थानीयलाई सचेत गराइसकेको छ । सुन्दरीजलदेखि बल्खुसम्म नै परियोजनाले स्थानीयलाई नदी आसपास नजान सतर्क गराएको हो ।

प्रतिक्रिया