समाज विकासका मुद्दालाई अब प्रधान बनाउनुपर्छ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक विकास र सभ्य समाज निर्माणको विषय अबको मूख्य राजनीतिक मुद्दा हुनुपर्ने बताएका छन् ।

कांग्रेसको आदिवासी जनजाति केन्द्रीय विभागले काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा प्रवक्ता शर्माले नेपालमा दशकौं राजनीतिक र भौतिक विकासका लागि मात्रै संघर्ष गर्नुपरेकाले सामाजिक मुद्दाहरु छुटिरहेको भन्दै अब सभ्य समाज निर्माणको मुद्दालाई दलहरुले प्राथमिकताका साथ उठाउनुपर्ने बताएका हुन् ।

सडक, पूल, भवन निर्माण भए भन्ने र त्यसैलाई सरकारका उपलब्धिका रुपमा उठान गर्ने कुरा वर्षौंदेखि भइरहेको र अहिले पनि त्यसैलाई विकासको मानक मानेर प्रधानमन्त्री मन्त्रीले घोषणा गर्नु अचम्मलाग्दो भएको प्रवक्ता शर्माको भनाइ छ ।

‘जोसुकै प्रधानमन्त्री वा मन्त्री बनेपनि नियमित रुपमा हुने विकास निर्माणका काम हुन्छन् नै’, शर्माले भने, ‘अबको विकासमा समाज विकासका सूचकहरुको अवस्था के छ ? समाज कति सभ्य बन्यो भन्ने खालका मुद्दालाई उठाउनुपर्छ ।’

कांग्रेसको आगामी महाधिवेशनले कांग्रेसलाई अझै समावेशी पार्टीका रूपमा स्थापित गर्ने प्रवक्ता शर्माको भनाइ छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा आदिवासी जनजाति विभागकी प्रमुख सीता गुरुङले कांग्रेसले सबै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताइन् ।

कार्यक्रममा प्राध्यापक कृष्ण खनाल, प्राध्यापक बालकृष्ण माबुहाङ, कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहाल अधिवक्ता रामजी कोङरेङ लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया