प्रचण्डले संसदमा पठाएको पत्रको औचित्य नरहेको ओली पक्षको दाबी

काठमाडौं । नेकपाको ओली पक्षका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको जिकिर गरेका छन् ।

संसदीय दलको तर्फबाट शुक्रबार प्रेस विज्ञप्ति जारी गरी भट्टराईले दलको विधानबमोजिम विधिवत रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी गैरकानुनी हुने जिकिर गरेका हुन् ।

भट्टराईले निकालेको विज्ञप्तिमा नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने उल्लेख गरिएको छ ।

मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकका मान्यता पाउन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने पनि उल्लेख गरेका छन् ।

नेकपाका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र बिहीबार संसद सचिवालयमा दर्ता गराउँदै प्रचण्ड–नेपाल पक्षले ओली पक्षका गतिविधी अवैध भएकाले मान्यता नदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया