दुवै अध्यक्षलाई घेराबन्दीमा पारेर एकता जाेगाउने वामदेवकाे याेजना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् ।

बिहीबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । नेकपाका अध्यक्षद्वय  पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझैपनि एकताको पक्षको नआएको उनले बताए ।

‘ठुलाठुला सभाहरुमा उहाँहरूले बाेल्नुभएकाे सुन्दा दुवै अध्यक्ष एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन भन्ने बुझिन्छ,’ उनले भने, ‘मेरो चाहिँ प्रयत्न के छ भने दुवै पक्षका दाेस्राे पुस्ताका कमरेडहरूलाई एकताबद्ध गरी तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने अनि जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । चारैतिरबाट यी दुवै नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’

यस्तै नेता गाैतमले केपी र प्रचण्ड एक नभएसम्म जनताले नेकपा एकजुट भएकाे नमान्ने भन्दै दुवै अध्यक्षलाई एकतामा ल्याउनका निम्ति सबै पक्षलाई एकताबद्ध गराउने पक्षमा आफू रहेको बताए ।

प्रतिक्रिया