सरकार र विप्लव समूहबीचको वार्ता जारी

काठमाडौं । सरकार र विप्लव समूहबीचको वार्ता जारी रहेको छ । राजधानीकै एक सरकारी भवनमा वार्ता जारी रहेको स्रोतले बताएको छ ।

सरकार निकट एक स्रोतले बताएअनुसार वार्ता बिहानदेखि नै जारी रहेको छ । ‘सरकार र विप्लव समूहले हिजै नै वार्ता टोली गठन गरिसकेको थियो,’ स्रोतले मकालु खबरलाई भनेको छ, ‘तत्कालै वार्ता गरिहाल्ने भन्ने पक्षमै सरकार थियो । जसअनुसार नै आजै वार्ता गरिएको हो ।’

वार्तामा विप्लव समूहका मागबारे छलफल भइरहेको बुझिएको छ । विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परेका आफ्ना नेता/कार्यकर्ता रिहा हुनुपर्नेलगायतका केही मागहरु अगाडि सारेको छ ।

यसअघि हिजै नै सरकारको तर्फबाट पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली बनेको थियो भने विप्लव समूहको तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहने गरी वार्ता टोली बनेको थियो ।

विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि समूहले सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । सरकारले यसअघि नै तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सीके राउतलाई मूलधारको राजनीतिमा समावेश गराएको थियो ।

मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग चाँडै वार्ता हुने जनाउ दिएका थिए । तत् विषयमा सरकारले आजै वार्ता शुरु गरेको हो ।

प्रतिक्रिया