केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन् : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा ९२ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल-नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे । उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए ।

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए । उनले भने,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

बस्नेतले अहिले दाहाल-नेपाल समूह ‘फ्रन्ट-गियर’ मा नभई ‘ब्याक-गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे । उनले दाहाल-नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत तेर्साए ।

प्रतिक्रिया