मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कराँतेले गर्दा फुटबलको अन्तर्राष्ट्रिय रेफ्री बनेका किरण

  • सुमन सुस्केरा

विराटनगर । शुरुमा उनले स्केटिङ सिके । केही समय त्यसमै रमाए । तर गुडाउन पर्याप्त खाली ठाउँ थिएन । स्केटिङको बोर्ड बोकेर एयरपोर्टसम्म वा राजमार्गसम्म गइरहन दिक्क लाग्न थाल्यो ।

त्यसपछि उनी लागे कराँतेतर्फ । कराँते सिकेका मानिसको बढ्दो रवाफ हुन्थ्यो टोलमा । यसैले आकर्षित गरेको थियो उनलाई । आपतका बेला आत्मरक्षा हुने फाइदा पनि छँदै थियो ।

उसो त उनी फुटबल पनि खेल्थे । घरबाट लुकीलुकी । ब्यागमा बुट लुकाएर लैजाने अनि साथीहरुसँग खेल्ने बानीले उनलाई फुटबलका सबै नियम थाहा मात्र भएको होइन कि मैदानमा विभिन्न पोजिसनमा खेल्दाको अनुभव पनि दिलायो ।

विराटनगरमा २०२७ सालमा जन्मिएका किरण गिरी २०४५ सालमा खेल क्षेत्रमा लागेका हुन् । साथीसँग मिलेर खाली ठाउँमा फुटबल खेल्दै हुर्केका उनी २०४५ सालदेखि भने व्यवसायिक रुपमा फुटबलमा लागे । तर उनको व्यवसायिक फुटबल खेलाडी जीवन भने एक वर्षभन्दा लामो हुन सकेन । किनभने त्यसको एक वर्षपछि अर्थात् २०४६ सालदेखि उनी रेफ्रीका रुपमा चिनिन थाले । २०४८ सालमा त उनी राष्ट्रिय रेफ्री बनिहाले ।

फुटबलको रेफ्री बन्न कराँतेको सहयोग
संयोग कस्तो पर्यो भने उनलाई फुटबलको रेफ्री बन्न कराँतेले निकै ठूलो सहयोग गर्‍यो । अर्थात्, कराँते नसिकेको भए उनी फुटबलको रेफ्री बन्थे भनेर यसै भन्न सकिँदैन । यो कुरा उनी पनि स्वीकार्छन् ।

उनले कराँते सिकिसकेका थिए । फुटबल पनि खेल्थे । विराटनगरको पोखरीयामा फुलबल प्रतियोगिता आयोजना भएको थियो । सबैले खेल्न चाहने । रेफ्रीको भने अभाव । किरणलाई रेफ्री बनिदिन अनुरोध आयो ।

उनलाई अझै सम्झना छ‚ त्यसदिन सन्तोष बानियाँले उनलाई रेफ्रीका रुपमा मैदान छिराएका थिए । उनी फुटबल खेलाडी भएपनि कराँते पनि सिकेको हुनु उनलाई रेफ्रीका रुपमा प्रस्ताव गर्नुको एक कारण थियो ।

‘त्यसबेला फुटबलका क्रममा खेलाडीबिच हुने झै झगडा मिलाउन पनि कराँते सिकेको अलि ज्याङ्गो टाइपको व्यक्तिलाई रेफ्रीका रुपमा राखिन्थ्यो‚’ मकालु खबरसँग उनले भने‚ ‘मैले कराँते पनि सिकेको र फुटबलका नियम पनि जानेका कारण मलाई रेफ्री बन्न अनुरोध गरिएको थियो ।’

‘कराँतेले नै मलाई फुटबलको रेफ्री बनायो, गुण्डा टाइपका मान्छे, अरुसँग भिड्न सक्ने, निडरखालको व्यक्तिलाई मात्र त्यो बेला रेफ्रीको रुपमा हेरिन्थ्यो । कराँतेले गर्दा मलाई सबैकुरा सिकाएको थियो‚ जसले गर्दा रेफ्रीको रुपमा काम गराउन सजिलो भयो ।’

तर, कहिल्यै पनि निर्वाह नगरेको भूमिका भएकाले शुरुको दिन आफूलाई कतिबेला खेल सकिएको जनाउस्वरुप फाइनल ह्विसिल बजाएर निस्कने भन्ने तनाव मात्र भएको उनले सुनाए । तर मैदानमा छिरेपछि रेफ्रीका रुपमा निष्पक्ष रुपमा खेल खेलाएको भनेर उनको प्रशंसा भयो । ‘पहिलो दिनको त्यो खेलबाट मभित्र पनि आत्मविश्वास बढ्यो‚’ उनले भने‚ ‘बाहिरबाट पनि तारिफ आएपछि खेल्नुभन्दा खेलाउनु ठीक रहेछ भन्ने भावना विकास हुँदै गयो ।’

त्यसपछि त उनी अरु प्रतियोगिताहरुमा पनि बोलाइन थाले‚ जसले गर्दा उनी रेफ्रीका रुपमा चर्चित बन्दै गए ।

कसैको पक्ष नलिने र नियममा बाँधिएर खेलाउने उनको शैली लोकप्रिय भयो । भन्नुको मतलब उनी रेफ्रीका रुपमा चर्चित र लोकप्रिय हुन थाले ।

२२ वर्ष राष्ट्रिय रेफ्री
धरानमा फुटबल रेफ्रीहरुको तालिम र काठमाडौँमा भएको अर्को तालिमपछि उनलाई राष्ट्रिय रेफ्रीको मान्यता दिइएको हो । काम गर्दै, अपग्रेड हुँदै, खेलका नियमलाई कडाइ गर्दै जाने क्रममा २०४८ सालमा राष्ट्रिय रेफ्रीको मान्यता पाएपछि उनले यसैलाई पेसाको रुपमा अँगालेको उनी बताउँछन् ।

२०५४ सालमा फिफाको असिस्टेन्ट रेफ्रीको रुपमा एन्फामा काम गर्ने अवसर पाए । उनले २०६९ सालसम्म एन्फाको नियमित रेफ्रीको रुपमा काम गरे । राष्ट्रिय खेलकुद परिषदको सदस्यमा नियुक्त भएपछि एन्फाको रेफ्रीबाट राजीनामा दिए ।

२२ देशको अनुभव
किरण रेफ्रीका रुपमा फुटबल खेलाउन २२ देश पुगे । अन्तर्राष्ट्रिय रुपमा प्रतियोगिता गराउँदा निक्कै नै रमाइलो हुने उनको अनुभव छ । पारिवारिक रुपमा सामान्य आर्थिक अवस्था रहेपनि रेफ्रीका रुपमा आर्थिक रुपमा पनि धेरै नै भरथेग भएको उनले बताए ।

एक खेल खेलाएबापत ७५ रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म लिएको उनले बताए । गाउँका क्लबहरुलाई शुरुका दिनमा ७५ रुपैयाँ लिएर खेल खेलाएको भएपनि वर्ल्डकपको दोश्रो चरणको छनौट खेल खेलाउँदा प्रतिखेल ५ सय डलर पारिश्रमिक पाएको आफूले कहिल्यै नबिर्सने उनले बताए ।

‘फुटबल रेफ्रीमा पैसा छैन भन्ने कुरै होइन,’ उनले भने, ‘इमान्दार भयो भने धेरै पैसा कमाउन सकिन्छ । मेहनती र लगनशील भयो भने रेफ्री पैसा खोज्न कतै जानै पर्दैन, पैसा नै आफैँ खोज्दै आउँछ ।’

झोलाभित्रको बुट
२०४६ साल देखि ५२ सालसम्म खेलकुद क्षेत्र अस्तव्यस्त भएको थियो । खेलाडी पाउन पनि गाह्रो, पाएका खेलाडीलाई टिकाइराख्ने समस्या उस्तै । यसैपनि खेलाडी बन्न प्रोत्साहन नदिने आम परिवारबाट किरणको परिवार पनि अलग्गै थिएन । उनलाई घर परिवारले फुटबलमा लाग्न अनुमति दिएन ।

उनी आदर्श माध्यामिक विद्यालयमा पढ्दा फुटबलको बुट लुकाएर झोलामा हालेर विद्यालय जान्थे । दिउँसो फुटबल खेल्यो तर साँझ घर फर्किएपछि त्यो बुट जोगाउने चिन्ता थियो । बुबा आमाले थाहा पाउने डरले बोरामा जुत्ता लुकाउने गरेको उनले सुनाए ।

रेफ्री अपजसे काम हो । उनी यसलाई धन्यवादरहित जागिर हो । जतिसुकै राम्रो खेलाएपनि हरुवा टिम र पक्षले रेफ्रीलाई आरोप लगाइहाल्छ । रेफ्रीलाई एक पक्षले कहिल्यै राम्रो गरिस् नभन्ने उनको अनुभव छ । तर रेफ्रीको काम चानचुने नभएको उनी बताउँछन् ।

‘एकजना रेफ्रीले मैदानभित्र रहेका बिसौँ हजार दर्शकका आँखालाई कन्फिडेन्स दिलाउन सक्नु भनेको त ठूलो कुरा हो नी‚’ उनले उत्साहित हुँदै सुनाए । ‘हाम्रा २ आँखाले खेलाएको प्रतियोगितालाई बाहिरको बिसौँ हजारका आँखाले हेरिरहेका हुन्छन्, त्यसैकारण मिलिसेकेन्डको पनि महत्व बेग्लै हुन्छ । इमान्दार भएर खेलाउन सक्नुपर्छ‚’ उनी भन्छन् ।

बन्छु नभन्दा नभन्दै बनेको रेफ्रीको कामबाट किरण गिरी अहिले पूर्ण सन्तुष्ट छन् । नाम पनि भयो, दाम पनि भयो, सबैले चिने पनि, विभिन्न देश घुम्न पनि पाइयो, जताबाट सोच्दा पनि रमाइलै रमाइलो र खुशी नै खुशी पाउँछन् उनी यो पेशाबाट ।

घरिघरि उनी बाल्यकालतिर फर्किन्छन् र घोत्लिन्छन्–त्यसबेला फुटबल र कराँते खेलेका साथीहरु कोहि पनि खेल क्षेत्रमा छैनन् । अनि निष्कर्ष निकाल्छन्‚ ‘शायद रेफ्री नभएको भए म पनि खेल क्षेत्रमा हुने थिइनँ होला ।’
र रेफ्री बन्नका लागि त उनलाई सबैभन्दा धेरै सहयोग त कराँतेले गरेको थियो । यो कुरा त उनी किन भुल्न सक्थे र ?

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com