कहाँ चुक्याे रेखा थापा फाउन्डेसन ?

  •  दिक्षा कट्टेल

काठमाडौँ  । ‘लहरो तान्दा पहरो थर्किन्छ’ यो नेपाली उखानले पुनः एकपटक चलचित्र वृत्तलाई चरितार्थ गरेको छ । नायिका सुष्मा कार्कीमाथि आक्रमण भयो । अर्की नायिका श्वेता खड्का निकटले कार्कीमाथि आक्रमण गरेको पुष्टि पछि भयो ।

यसको सोझो असर श्वेता खड्कालाई पर्‍यो । श्वेताले केही दिनअघि माझी बस्तीमाथि ऋण लागेको विषयमा सामाजिक सञ्जालमा लेखेको पोस्ट्माथि अझ विस्तृत रूपमा जान थालियो । उनले सञ्चालन गरेको श्वेता श्री फाउन्डेसन र माझी बस्ती विवादमा आयो । श्वेतालाई देवीको स्थान दिने दर्शकहरु नै उनीमाथि खनिए । फाउन्डेसन र श्वेता दुवैतर्फबाट भिन्न–भिन्न कुरा आए । तर, याे मुद्दाको अन्त्य भएको छैन ।

यसैबीच एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा नेतृ रामकुमारी झाँक्रीले ‘मागेर समाजसेवा हुँदैन’ भन्ने अभिव्यक्ति दिइन् । यस विषयमा स्रोता/दर्शक दुई भागमा विभाजित भए । यहीबीच अर्कि नायिका रेखा थापाको अन्तरवार्ताको एक भिडिओ क्लिप भाइरल भयो । भिडिओमा नायिका थापाले समेत सोही आशयको कुरा गरेकी छन् । ‘मागेर समाज सेवा हुँदैन,’ नायिका थापाले भिडिओमा भनेकी छन्, ‘जति गरेँ मैले आफ्नै पकेटबाट गरेँ । समाजसेवा गर्ने नै हो भने, तपाईँ सम्पन्न हुनुपर्‍यो । तपाईँसँग एक लाख रुपैयाँ मागेर समाजसेवा गर्ने हो भने त्यो त ’डिस्ट्रिब्यूटर’ भयो नि । म त डिस्ट्रिब्यूटर भएँ नि । डिस्ट्रिब्यूटर कसरी समाज सेवा भयो र ? त्यसकारण मैले जति गरेँ आजसम्म, मेरो पकेटबाट गरेँ । अब जुन योजना बनाइरहेको छु, त्यो योजनामा पैसा लाग्दैन । मैले एकजनालाई मात्रै सुधार्न सकेँ भने त्यो नै मेरो ठूलो सम्पति ।’

यद्यपि उक्त भिडियाे क्लिप भने केही पुरानो हो ।

सामाजिक सञ्जालमा भएको विरोधले अहिले केही फरक रूप लिएको छ । रेखा थापा फाउन्डेसन खोलेर समाज सेवामा लागेकी रेखालाई उनका पूर्व म्यानेजरसमेत रहेका पुष्कर भट्टले प्रश्न उठाएका छन् ।

रेखाले २०७० साल पुस १९ गते शुक्रबार भव्य कार्यक्रम गर्दै ‘रेखा थापा फाउन्डेसन’ शुरु भएको घोषणा गरेकी थिइन् । नाम चलेको तारे होटेलमा गरिएको उक्त कार्यक्रममा चलेका कलाकार र पत्रकारहरुको समेत सहभागिता थियो । सोही दिनबाट उनले फाउन्डेसनको अफिसियल वेबसाइटसमेत शुरु गरेकी छन् । उक्त कार्यक्रममा सुर्खेत र डडेल्धुरा जिल्लाको जोगबुढामा रहेका लोपोन्मुख राउटे जातिलाई गरेको सहयोगसम्बन्धी वृत्तचित्र प्रदर्शनसमेत भएको थियो । फाउन्डेसनको उद्घाटनका लागि उनले दुई राउटे लिडरलाई नै छानिन् । एक परिवारलाई ५० हजार रुपैयाँ सहयोगसमेत गरिन् ।

कार्यक्रममा उनले २०० वटा घर सुर्खेतमा राउटेलाई बनाइदिने घोषणासमेत गरकी थिइन् । त्यस्तै उनले सुदूरमै रहँदा एक रेडियो अन्तरवार्तामा चारजना राउटेको बच्चा लिएर काठमाडौं जाने र उतै शिक्षाको व्यवस्था गरेको समेत बताएकी थिइन् ।

उनको चलचित्र ‘हिम्मतवाली’ चर्चामा थियो । प्रदर्शनको समय नजिकिँदै थियो । चलचित्रको लागि समेत उनले गाउँबाट राउटे नै झिकाइन् । यसै पनि दुवै हात नभएर पनि सगरमाथा आरोहण गरेका साहसी आराेही सुदर्शन गौतमलाई लिएर बनाएकाे चलचित्र, अझ राउटेको उपस्थितिले रेखाको चर्चा चुलियो । चलचित्र चल्यो पनि ।

फाउन्डेसन उद्घाटनको क्रममा उनले चलचित्र क्षेत्रमा नै कार्यरत पुष्कर भट्टलाई फाउन्डेसनको म्यानेजर भनेर उद्घोष गरेकी थिइन् । उनै पुष्कर, जसले अहिले आएर रेखा माथि प्रश्न गरिरहेका छन् । सोही विषयमा जिज्ञासा राख्दा पुष्करले आफूलाई पद दिइएको तर, फाउन्डेसनको अफिस भनेर केही व्यवस्था नभएको बताए । काम केही आउँदा रेखाले भेट्न बोलाउने भए पनि अनाउन्स्मेन्टपश्चात् खासै कुरा नभएको पुष्कर सुनाउँछन् ।

यसको केही महिनापश्चात् भूकम्प आयो ।  भूकम्पले तहसनहस पारेको जीवन सम्हाल्न उनी क्यानडा गए ।

पुष्पकरका अनुसार रेखाले अनाउन्स् गर्दा घर बनाउने कुरा गरेको भिडियो अडियो प्रमाण जति पनि पाउन सकिन्छ’ भन्ने उनले राउटेका तीनजना बच्चा भने आफ्नै रोहबरमा ल्याएका रहेछन् । पहाड घर डडेल्धुरा भएका भट्टकै पहलमा पहिलोपटक रेखा राउटे बस्ती पुगेकी थिइन् । भट्टकै रोहबरमा बच्चालाई ल्याएर स्वयम्भूको आनन्दकुटी विद्यापीठमा भर्ना गरिएको थियो ।

भर्ना गर्दा विद्यालयमा केही रकम जम्मासमेत गरिएको थियो । बालबालिकाको संरक्षकमा आमा रेखा थापा, बाबु सुदर्शन गौतम र सहयोगीमा भट्टको नाम थियो । तर, केही महिना नबित्दै रेखाले भट्टलाई भेट्न बोलाएर ती बच्चाहरू घर फर्काइदिन आग्रह गरिन् । आफ्नै जिम्मामा सम्झाई–बुझाई गरेर बल्ल काठमाडौं पठाउन मनाएका राउटे अभिवाकलाई अचानक बालबालिका जिम्मा लगाउन सहज थिएन ।

राउटेको परिवारबाट पैसा मागेर मानसिक तनाव दिएको रेखाले बताउँदा, भट्ट अन्ततः प्रहरीको रोहबरमा राउटे बस्ती पुगे । बस्तीमा पुगेर प्रहरीसमक्ष नै उनले बालबालिका जिम्मा लिए । र एक शैक्षिक सत्र समेत पूरा नहुँदै ठूल्ठूला सपना बुनेर ल्याइएका बालबालिका उतै फर्किन विवश भए ।

क्यानडाबाट पैसा ल्याएर रेखाले सहयोग गरेकी हुन् त ? भन्ने प्रश्नमा पुष्कर भन्छन्, ‘फन्ड यति जम्मा भयो उति जम्मा भयो भन्दै मलाई सुदर्शन गौतमले सुनाउनुहुन्थ्यो ।  रेखाले आफ्नो पकेटबाट खर्च गर्ने भन्ने नै थिएन ।’ हिम्मतवालीका हिरो सुदर्शनको साहसको सम्मान गरेर उनलाई विश्वास गरेर रकम जम्मा भएको थियो ।

चलचित्र प्रमोशनको समयमा आएका राउटेलाई हलमा घुमाउन त रेखा तयार थिइन् । तर, खाने बस्ने व्यवस्थाको विषयमा रेखालाई कुनै चासो नै नभएकाे भट्टकाे आराेप छ । ती राउटेलाई दुवै हात नभएका सुदर्शनले आफू बस्ने गरेको डेरामा नै व्यवस्थापन गरेका थिए ।

राउटे बच्चाहरूलाई भट्टले आफ्नो जिम्मामा व्यवस्थापन गरे भने प्रचारमा प्रयोग भएका राउटेलाई सुदर्शनले जिम्मा लिए । रेखा निकट एक व्यक्तिले फाउन्डेसन ‘डिसमिस’ भएको बताए । कानूनी रूपमा संस्था बन्द गरेको हो त ? भन्ने प्रश्नमा उनले अनभिज्ञता प्रकट गरे ।

यता रेखा थापाले भने पटक-पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाएकी छैनन् ।

सुदर्शनकाे  रेखासँग सन् २०१८ बाट नै सम्पर्क नभएकाे बताए । ‘फाउन्डेसनको अवस्था के छ त ?’ भन्ने प्रश्नमा उनले आफू आधिकारिक व्यक्ति नभएकाले रेखा थापासँगै कुरा गर्न आग्रह गरे । तपाईँले फन्ड उठाउन सहयोग गर्नुभएको रहेछ नि ? भन्ने प्रश्नमा उनले भने‚ ‘मैले धेरै फाउन्डेसनलाई सहयोग गरेको छु र गर्दै पनि छु, कतिले राम्रो काम गर्छन्, कतिले गर्दैनन् ।’

रेखाको टिमसँगै राउटे बस्ती डडेल्धुरा पुगेका निर्देशक श्याम भट्टराईसँग बुझ्दा उनले ‘लफडा’ मा पर्न नचाहनेको बताए । रेखाले मिडियामा नै आएर शुरु गरेको फाउन्डेसनको हालको अवस्थाबारे फेरि पनि उनी नबोलेसम्म कुनै निष्कर्षमा पुग्न सकिने अवस्था देखिँदैन ।

यसरी एकपछि अर्को फाउन्डेसन विवादमा तानिन थालेसँगै मोडल एलिजा गौतमले आफूले शुरु गरेको फाउन्डेसनको काम हाललाई स्थगित गर्ने बताएकी छन् । उनी पनि मागेर समाज सेवा गर्न तम्सिएकोमा यही घटना परिघटनाले पछि सरेकी हुन् ।

यी घटनाहरुले छिट्टै लाेकप्रिय बन्ने वा चर्चा कमाउने नाउँमा फाउन्डेशन वा समाजसेवाकाे कुरा गरिहाल्न हताराे गर्नाले आफैलाई घाटा हुने रहेछ भन्ने यी घटनाहरुले देखाएका छन् ।

प्रतिक्रिया