राष्ट्रपतिद्वारा २३ फागुनमा संसद् अधिवेशन आह्वान

काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन आगामी २३ फागुनबाट शुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले २३ गते अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार सिफारिस पत्र पेश गरिएको र सोहीबमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए । तत्पश्चात् सर्वोच्च अदालतले ती निवेदनहरुमाथि सुनुवाइ गर्दै संसद् पुनःस्थापना भएको फैसला सुनाएको थियो । त्यसको १३ दिनपछि प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश दिएको थियो ।

प्रतिक्रिया