‘अदालतले संविधानको व्याख्या गर्ने हो, नारा जुलुसको होइन’

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले नारा जुलुसको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन् । आइतबार आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

आफ्नो अभिव्यक्तिले अदालतको मानहानी हुन नसक्ने जिकीर पनि अध्यक्ष दाहालको छ । ‘सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो,’ आफ्नो लिखतमा अध्यक्ष दाहालले भनेका छन्, ‘त्यो जुलुस, नारा र भाषणको होइन । तसर्थ, हाम्रो जुलुस नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत) लाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन ।’

यसैबीच अध्यक्ष दाहालले सरकार र उनको नातेदारहरुले आफूविरुद्ध निवेदन हाल्न लगाएकोसमेत उल्लेख गरेका छन् ।

केही दिनपहिले आफूनिकटको आमसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया