‘अविश्वास प्रस्ताव फेल हुन्छ भनेर विपक्षीहरु डराए’ [भिडिओसहित]

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्गले संसद् पुनःस्थापनापछि सरकार झनै बलियो भएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङ्गले यस्तो तर्क गरेका हुन् ।

प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणीसमेत नेता नेम्वाङ्गले गरेका छन् । ‘साथीहरुलाई अप्ठ्यारो भएको छ,’ सम्बोधनका क्रममा नेता नेम्वाङ्गले भनेका छन्, ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन । यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो, जुन कुरा ठिक थिएन । यो ठिक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुनःस्थापना भयो । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावलगायतका कुराहरु के के हुँदैछ । मैले तपाईँहरुलाई बताइनै सकेँ । उहाँ (ओली) त हिजोभन्दा झन दह्रो पो हुनुभयो ।’

संसद् पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव अघि बढाउने सुनिएको बताउँदै नेता नेम्वाङ्गले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउनै डर लागेको पनि नेता नेम्वाङ्गले बताएका छन् ।

प्रतिक्रिया