तथ्यको आधारमा जोकोहीलाई कारबाही गर्छु : प्रमुख आयुक्त राई [भिडिओसहित]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कुनै पनि दोषीलाई नछाड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरिक भई सम्बोधन गर्ने क्रममा प्रमुख आयुक्त राईले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

यसभन्दा अगाडि अन्य प्रमुख आयुक्तहरुले चालेको कदमभन्दा पनि प्रभावकारी ढङ्गले काम अगाडि बढाउने बताउँदै आयुक्त राईले भनेका छन्, ‘जनताहरुले भ्रष्टाचारसम्बन्धी धेरै प्रश्नहरु उठाइरहनुएको छ । यहाँ भ्रष्टाचार व्याप्त छ भनेर भनिरहनुभएको छ । अब यस्ता भ्रष्टाचारहरुमाथि अझ प्रभावकारी ढङ्गले कार्य अगाडि बढाउँछु ।’

आफूमाथि जनताले गरेको विश्वासलाई सधैं सिरोपर गर्ने बताएका प्रमुख आयुक्त राईले थप भनेका छन्, ‘म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मबाट जनताले जे अपेक्षा गरेका छन्, त्यसलाई निराशामा परिणत हुन दिन्नँ ।’

यसैबीच आयुक्त राईले आफूले मान्छे हेरेर कारबाही नगर्ने बताए । तथ्य र प्रमाण पुगेको खण्डमा जोकोहीलाई कारबाही गर्ने जिम्मेवारीबाट पछाडि नसर्ने बताउँदै आयुक्त राईले भनेका छन्, ‘तर, निर्दोष व्यक्तिलाई कहिल्यै फसाइन्नँ । कानून, विधि र प्रक्रियामा रहेर म कामलाई प्रभावकारी बनाउनेछु ।’

भिडिओ हेर्न यहाँ क्लिक गर्नुस्ः

प्रतिक्रिया