सम्भव छ सग्लो नेकपा ?

  • धनबल राई

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि मुलुकको राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । योसँगै नेपाली राजनीति अब कसरी अघि बढ्ला भन्ने अन्यौल बढेको छ । अबको राजनीतिक समीकरण के होला ? नयाँ सरकार कसको बन्ला ? प्रधानमन्त्री को होला ? सँगै आइरहेको अर्को प्रश्न हो- के अब सग्लो नेकपा सम्भव छ ?

प्रतिनिधि सभाको बैठकमा नेकपा सग्लै रुपमा उपस्थित हुनेछ । उसो त फागुन २० गते नेकपाको नामका बारेमा सर्वोच्चले निर्णय गर्ने भएको छ । यदि सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको दलको नेकपा नाम रहने निर्णय गरेमा अहिलेको नेकपाको नाम के हुने भन्ने कुराको विवाद अर्को चरणमा प्रवेश गर्नेछ ।

नेकपाभित्र एकताको पहल गरिरहेका बामदेव गौतम पक्षसहित केही युवा नेताहरुले नेकपा एकताका लागि सर्वोच्चको फैसला एक अवसर भएको भनी व्याख्या गरिरहेका छन् । भलै, प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि एकै नाममा पनि बेग्लाबेग्लै चुल्हो–चौका गरिरहेको नेकपा सग्लो होला ? भन्ने प्रश्नको उत्तर जटिल छ । र यो विषय नेकपाका शुभचिन्तकले भनेजस्तो सजिलो अवश्य पनि छैन ।

ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ् कुनै पनि हालतमा नेकपा एक हुनुपर्ने र सरकार गठनमा जोड दिनुपर्ने बताउँछन् । ‘नेकपा एक हुनुपर्छ भन्ने कुरामा त दुई मतै छैन,’ नेम्वाङ्ले मकालु खबरसँग भने, ‘सबैको सोच नेकपा मिल्नुपर्छ भन्ने नै छ ।’

आफू पार्टी एक ढिक्का हुनुपर्छ र सिङ्गो देश एक हुनुपर्छ भन्ने खालको मान्छे रहेको बताउँदै नेता नेम्वाङ्ले थपे, ‘मैले खाली मोटो सिद्धान्त भनेको हुँ । हामी मिल्न चाहन्छौँ । हामी एकताबद्ध हुन चाहन्छौँ । त्यसैले हामीले कसैलाई कारबाही गरेका छैनौँ । गर्नुहुँदैन, मिलेर जानुपर्छ भनेर हामी निरन्तर रुपमा भनिरहेका छौँ ।’

राजनीतिमा सम्भावनाहरु सधैं जीवित रहने दृष्टान्त सुनाएका नेता नेम्वाङ्ले नेकपा पुनः एकीकृत हुने जिकीर गर्दै भने–‘राजनीतिमा सम्भावनाहरु प्रशस्तै हुन्छन् भनिन्छ । नेकपा एक हुन्छ ।’

यस्तै ओली समूहका प्रवक्तासमेत रहेका नेता प्रदीप ज्ञवाली पनि आफूहरु सधैं एकताकै पक्षमा रहेको बताउँछन् । ‘प्रधानमन्त्रीका तर्फबाट एकताको लागि सधैं ढोकाहरु खुला छन्, हाम्रो जोड भनेको एकता नै हो ।’

मुख्य समस्या दाहाल–नेपाल पक्षमा रहेको नेता ज्ञवालीको दाबी छ । ‘आफ्नै दलका नेतालाई हटाएर अन्य दलसँग सत्ता सहकार्य गर्ने कदम उहाँहरुले चाल्नुभयो, यो अवस्था रहँदासम्म त तल गरिने प्रयासहरुको सार्थकता पनि रहँदैन । तै पनि हामीले यो परिवर्तित अवस्थाका विषयमा पार्टीभित्र कुराकानी गर्दैछौँ ।’

नेकपाको अबको मिलन बिन्दुबारे राखिएको जिज्ञासामा नेता ज्ञवालीले भने, ‘देश, जनता र पार्टीलाई केन्द्रमा राखेर एकता गर्नैपर्छ । प्रधानमन्त्रीको तर्फबाट एकताका लागि सधैं बाटो खुल्ला छ ।’ अबको राजनीतिक परिस्थिति खासगरी दाहाल–नेपालमै भर पर्ने बताएका नेता ज्ञवालीले थप भनेका छन्‚ ‘उहाँहरु (दाहाल–नेपाल पक्ष) मै भर पर्छ, अबको राजनीतिक घटनाक्रम कता मोडिन्छ भनेर ।’

गत कात्तिक २८ को केन्द्रीय सचिवालय बैठकमा प्रचण्डबाट प्रस्तुत आरोपपत्रका कारण पनि नेकपा विभाजन हुने अवस्थामा पुगेको नेता ज्ञवालीको भनाइ छ । नेता ज्ञवालीको भनाइ छ, ‘मुलुकलाई अस्थिरतातर्फ धकेल्ने र देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने काम गर्नुपर्थ्यो । संसद् विघटनभन्दा अगाडि पनि यस्तो प्रहार निरन्तर भइरहेकै थियो । संसद् विघटनले मात्रै पार्टीमा विभाजन देखियो भन्ने कुरा चाहिँ होइन ।’

नेताहरु नेम्वाङ् र ज्ञवालीले एकता हुनैपर्ने र हुने दाबीसहितको सैद्धान्तिक कुरा गरेपनि कसरी मिल्ने त अथवा कुन पक्षले के त्याग गर्ने भन्नेबारेमा भने केही बताएनन् ।

दाहाल–नेपाल नेतृत्वका नेता सुरेन्द्र पाण्डेले भने संसदीय दलको नेतामा अरुलाई (ओलीबाहेक) प्रस्ताव गरेर नयाँ तरिकाबाट जान चाहे आफ्नो पार्टी पनि सकारात्मक रहेको बताउँछन् । ‘पुरानो कुरालाई बिर्सेर नयाँ तरिकाबाट जाऔँ भन्ने कुरा आएको खण्डमा यो कुरालाई मनन् गर्न सकिन्छ,’ नेता पाण्डेले मकालु खबरसँग भने, ‘तर, दलको नेतामा भने अरुलाई (ओलीबाहेक) प्रस्ताव गर्नुपर्छ ।’

नेकपाको मिलन बिन्दु के हो ? भन्ने जिज्ञासामा नेता पाण्डेले भने‚ ‘दुवैले आ–आफ्नो हठ छोड्नुपर्छ । सम्भावनाका बाटाहरु बन्द भइसकेका छैनन्, ती बाटा पहिल्याउन जरुरी छ । तर पनि प्रतिगमनलाई साथ दिने साथीहरुमा पश्चताप भने हुनुपर्छ ।’

आफूहरुले निरन्तर रुपमा छलफल तथा परामर्श अघि बढाएको सुनाउँदै नेता पाण्डेले दुई खेमाको मिलनबिन्दुको निर्माण नेकपा आफैँले गर्नुपर्ने बताए । ‘उहाँ (ओली समूह)हरु सकारात्मक भएर आउनुभएको खण्डमा मिलेर जान सकिन्छ,’ नेता पाण्डेले भनेका छन् ।

दाहाल–नेपाल पक्षकै नेता लीलामणि पोखरेल पनि ओली बाहेकका पश्चाताप गर्ने साथीहरुसँग सहकार्य हुनसक्ने बताउँछन् । केपी ओली विशुद्ध एउटा प्रवृत्ति भएको बताउँदै नेता पोखरेलले मकालु खबरसँग भने, ‘हामीले इतिहासमा भूल गर्यौँ । केपी ओली प्रवृत्तिबाट अब मुक्त हुन चाहन्छौँ भन्ने साथीहरु भए भने उहाँहरुसँग सहकार्य गर्न सकिन्छ । सबैजना एकैचोटी मिल्न भने कति सकिन्छ, त्यसको परीक्षण बाँकी छ ।’

प्रतिक्रिया