के गर्भवती छिन् प्रियंका ?

काठमाडौं । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान जोशीसँग विवाह गरिन् । विवाहको रमझम नसकिँदै कोरोना भाइरसका कारण लकडाउनले उनीहरू घरमै रहन बाध्य भए । एक प्रकारले सोच्दा उनीहरूले विवाहपश्चात् ‘क्वालिटी टाइम’ बिताउन पाए । एक अर्कालाई अझ नजिकबाट चिन्ने मौका पाए ।

त्योताका सबैको खाली थियो । तर, उनीहरूले भने उपलब्धिमूलक काममा लगाए । प्रियंकाले आफ्नै युट्युब च्यानलमार्फत् विभिन्न कार्यक्रम सुरु गरिन् । यही कार्यक्रम निर्माणका लागि पर्दा पछाडिको काम आयुष्मानले सम्हाले ।

उनीहरू आफ्नै प्रोजेक्ट ‘बसन्ती’ मा व्यस्त छन्, अहिले । यसको अलावा प्रियंका विभिन्न कम्पनीका विज्ञापनहरूमा समेत देखिइरहेकी छन् । सञ्चारमाध्यमबाट टाढा जान मन नपराउने उनी अहिले भने खासै देखिएकी छैनन् ।

पछिल्लो ३ महिना नियाल्ने हो भने उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्ना काम बाहेक स्टोरी र फोटो पोस्ट गरेको देखिँदैन ।

जति पनि काम उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, त्यहाँ पनि शरीर छोपिने पहिरन प्रयोग गरेकी छन् । अझ, उनको प्रयास पेट लुकाउनेझैँ देखिन्छ । फरक फरक पोस्चरमा रहेर फोटो भिडियो सार्वजनिक गर्दा कतै उनी गर्भवती त छैनन् भन्ने आभाष भएको छ ।

उनले डिसेम्बरको अन्ततिरको जमघटमा केही तस्बिर सार्वजनिक गरेकी छन् । उनले उक्त समारोहमा प्रयोग गरेको कालो पृष्ठभूमिमा सेतो गोलो धब्बा भएको पहिरन केही समय अघि भारतीय नायिकाहरुले आफू गर्भवती भएको समयमा प्रयोग गरेको पहिरनझैँ देखिन्छ । सामाजिक सञ्जालमा उक्त पहिरनलाई गर्भवती भएको जनाउ दिने पहिरन भनेर चर्चा हुने गर्छ ।

पछिल्लो समयका तस्बिरहरूमा उनको तौलसमेत बढेको देखिन्छ । हिजो मात्रै सार्वजनिक गरेको तस्बिरमा उनले ‘हिस्सी केटी म’ लेखेकी छन् । हिस्सी शब्दले मोटी र सुन्दर महिलालाई जनाउँछ ।

यी सङ्केतहरू हेर्दा उनी गर्भवती भएको अनुमान लगाउन सकिन्छ । यदि उनी गर्भवती नै छन् भने पनि यो उनका दर्शकको लागि खुसीको खबर हुनेछ ।

फागुन मध्यमा एक साता लगाएर विवाह गरेका यी दुईलाई पहिलो वैवाहिक वर्षगाँठको शुभकामना ।

प्रतिक्रिया