शुभ जन्मदिन प्रमोद

  •  दिक्षा कट्टेल

काठमाडौँ । अभिनय अभिनय जस्ताे मात्र भयाे भने फिल्म झुर हुन्छ । तर अभिनय वास्तविकजस्तै भयो भने चाहिँ दर्शकलाई साँच्चै मज्जा आउँछ । त्यसो त नेपाली कलाकारिता क्षेत्रमा नाटकलाई वास्तविकताको स्वरूपमा देखाउन सक्ने कलाकार कति होलान् ? शायद औँलामा  गन्न सकिने मात्र ।

प्रमोद अग्रहरी सधैँ जीवन्त अभिनय गर्ने कलाकारका रुपमा चिनिने कलाकारकाे नाम हाे।

गाला छोपेको दारी, रेसमी कपाल, चम्किला आँखा र भावुक भावका प्रमोद ‘अन्डररेटेड’  कलाकार हुन् ।

प्रमोद अब्बल त हुन् नै । यसको अलावा प्रमोद त्यागी र हठी पनि हुन् । उनी आफू शाकाहारी भएर पनि  आफूलाई चरित्रमा ढाल्नकै लागि सुटिङ अवधिभर मांसाहारी बनेका प्रमोदले आफूलाई चरित्रमा डुबाउन आफुलाई असजिलाे लाग्ने काम पनि सजिलाे मानेर गरिदिन्छन् ।

चलचित्र ‘सुश्री सम्पति’मा उनले आफ्नो चरित्रमा नाटकीयपन नहोस् भनेर माछा खाएका थिए । व्यक्तिगत जीवन एकातिर भए पनि आफ्नो काम राम्रोसँग गर्नुपर्ने तर्क प्रमोदको छ ।

स्क्रिप्टमा एउटा रोल र छायाकंन भिन्न हुनाले आफूलाई धेरै पीडा हुने गरेको उनी सुनाउँछन् । आफूलाई चित्त बुझ्ने चलचित्रमा मात्रै काम गर्ने गरेका प्रमोद काम सुरु भएपछि आफूलाई र आम दर्शकलाई सन्तुष्टि मिल्ने गरी गर्ने गरेको सुनाउँछन् ।

कतिपय चलचित्रमा काम गर्दा उनी यतिसम्म चरित्रमा डुबेका छन् कि, उनलाई सामान्य जीवन-स्थितिमा फर्किनै केही समय लागेको छ । ‘ग्यांगस्टार ब्लुज’ चलचित्रको छायाकंनमा अर्का कलाकार अनुपमलाई प्रमोदले २८ झापड हानेका छन् ।  चलचित्र नाटकीय नदेखियोस् भन्नका लागि यसाे गर्नुपरेकाे प्रमाेद बताउँछन् ।

सानोमा अरू क्रियाकलापमा सधैं प्रथम हुनुपर्ने प्रमोदको पढाइ भने सामान्य नै थियो । पढाइबाहेक चुङ्गीदेखि मार्सल आर्ट्ससम्ममा उनी आफूलाई अद्वितीय ठान्थे । उनी यति हठी कि, आफ्नो विकल्प द्वितीय होइन । काठमाडौँसम्मको यात्रामा समेत उनलाई ‘ए’ साइडको एक नम्बर सिट चाहिन्थ्यो । यही हठकै परिणाम, उनी आफ्नो चरित्र एक नम्बरमै चाहन्छन् । अरूसँगको तुलनामा होइन आफूभित्र अनि आफूसँगै ।

उनलाई सतही रूपमा चलचित्रमा देखिने सिन वाहियात लाग्छन् । ‘बलात्कारको दृश्य देखाउन पहिरन च्यातेर चिच्याउनै पर्दैन’, प्रमोदको भनाइ छ । चलचित्र जाइरामा उनको यस्तै सिन थियो । उनले कलाकार सुजातालाई छुँदै नछोई उक्त सिन सके । सुजाता निरन्तर ४५ मिनेटसम्म रोइरहिन् । यो क्षण यतिसम्म अघि गयो की अर्की नायिका तथा निर्माता नम्रता श्रेष्ठले सुजातालाई ‘प्रमोदले केही गर्‍यो हो ?’ भनेर प्रश्न सोध्नुपर्‍यो  । तर, उत्तर गज्जब थियो- उसले मलाई केही पनि गरेन । यस्तै विशेषताले उनको कलाकारितालाई झन् निखारिरहेको छ।

उनको व्यक्तिगत जीवन बिल्कुल फरक छ । पर्दामा डरलाग्दा देखिने प्रमोद घरमा नै भान्सा गर्न रमाउँछन् । उनलाई पाककलाको रहर छ । बाहिर काम नहुँदा उनी ५ बजेअघि नै घर पुग्छन् र खाना बनाउँछन् । उनले बनाउने खानामा भारतीय स्वाद आउने उनी बताउँछन् । गुलियो परिकारमा उनले खिर र बर्फी मिठो बनाउँछन् ।

उनै प्रमोदलाई आज परेको जन्मदिनको शुभकामना । प्रमोदजस्तै जिवन्त अभिनयमा रम्ने र जम्ने अरू कलाकारहरु पनि नेपाली सिने क्षेत्रमा जन्मिउन् । शुभकामना ।

प्रतिक्रिया