नेकपा विवादले देश संकटमा पर्‍यो : महामन्त्री सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षाजस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए ।
‘यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्,’ उनले भने, ‘नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्‍यो ।’ धर्मनिरपेक्षता हटाउन र एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । ‘६ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्,’ उनले भने ।

सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरे ।

प्रतिक्रिया