शुभ जन्मदिन पूर्ण विक्रम शाह

  •  दिक्षा कट्टेल

काठमाडौँ । दाङमा जन्मिएका पूर्ण विक्रम शाह एसएलसी सकेर काठमाडौँ छिरे । नेता बाबुको सपना छोरालाई सेनाको अफिसर बनाउने टुक्र्याउने हिम्मत गरेर उनी राजधानी आएका थिए । सानैमा छिमेकीको घरमा टेलिभिजनमा देखेको प्राविधिकको नाम र उनको गाउँमा उनै प्राविधिकको चार्मले तानेको थियो पूर्ण विक्रमलाई । यही सपना पुरा गर्न टेलिभिजनमा नाम आउने काम गर्न अर्थात् सम्पादक बन्न उनी सहर पसे ।

राजधानी छिरेसँगै भोग्नु पर्ने बाध्यता र व्यथाबाट अछुतो हुने कुरै भएन । एउटा कोठामा गुजमुज्ज परेर ४-५ जना बस्दाको पिडा होस् या पैदल कलेज, अफिस र डेरा गर्दाको थकान उनले सबै भोगे । काम गरेर पारिश्रमिक नपाउने देखि कम्पनी नै छोडेर मालिक बेपत्ता हुने, उनले के मात्रै भोग्न परेन ! यति हो उनले आधा पेट, उधारो व्यवहार गर्दै भए पनि काम भने सिके । सम्पादनको काममा पोख्त बने ।

एघार महिना सम्म काम गर्दा चलेकै टेलिभिजनबाट पारिश्रमिक नपाएको तितो अनुभव छ उनीसँग । यही सङ्घर्षबिच बाबु आउन नमाने पनि आफ्नी आमा र बहिनीलाई राजधानी भित्र्याए । तर अवस्था यस्तो सम्म आयो की फ्ल्याटमा बस्ने उनी फेरी एउटा कोठामा खुम्चिन बाध्य भए । तर उनले न त राजधानी छोडे न त सपना कारण एक मात्र थियो, उनले ‘हिम्मत’ हारेनन् ।

म्युजिक भिडियो सम्पादन गर्दै गर्दा उनलाई कलाकारको काम फिटिक्कै मन नपर्ने । निर्देशक र कलाकारको काम मन नपर्दा उनले आफैले खिचेर कभर भिडियो युट्युबमा अपलोड गर्न थाले । एक दिन विज्ञान राईले उनको भिडियो हेरे । सन्जोग मान्नु पर्छ विज्ञानले नयाँ गीतको अभिनयका लागी पललाई आग्रह गरे । पहिलो गीत फ्लप भयो । तर पनि उनले दोस्रो गीत ‘को होला त्यो’ मा काम पाए । ‘हनीबनी’ ले यो क्षेत्रमा पलको उपस्थिति बलियो बनायो ।

पूर्ण बहादुरबाट पल बन्न उनलाई सम्पादन सिकाउने नितिन चन्दले सहयोग गरे । सबै साथीको नाम छोटो आकर्षक तर उनको लामो । त्यसैले नितिनले उनलाई ‘पर्ल’ अर्थात् मोती नाम राख्न सुझाए । उच्चारणमा समस्या उने हुँदा पल फाइनल भयो । उनी आज यही नामले परिचित छन् । तर उनले आफ्नो विगत र नाम भुलेका छैनन् । दर्शक माझ पल भए पनि सामाजिक सञ्जालमा समेत उनले पूर्ण विक्रमलाई नै निरन्तरता दिएका छन् ।

कोमल मनका पलको आज जन्मदिन । उनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया