तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न

काठमाडौँ । चलचित्र पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ। चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो।

बिहीबारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको हो। कार्यशालामा ४० बढी पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको बताए। अध्यक्ष दाहालले सहभागीमध्ये एक जना उत्कृष्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले वार्षिक उत्सवको दिन प्रदान गरिने पुरस्कारबाट पुरस्कृत गरिने घोषणा गरेका छन्।

कार्यशालामा हरि न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दिलीप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए।

कार्यक्रमको संयोजन सङ्घका सङ्गठन उपाध्यक्ष कुबेर डङ्गोलले गरेका थिए। सङ्घले आगामी दिनमा लेखन वृद्धि र अन्य विषयमा कार्यशाला गर्दै जाने सङ्घले घोषणा गरेको छ।

प्रतिक्रिया