प्रदेश सभा सुचारू गर्न नेकपाका दुई समूहबीच छलफल

विराटनगर । प्रदेश-१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह र ओली समूहबीच प्रदेश सभा सञ्चालनका लागि वार्ता भएको छ। पटक-पटक अवरुद्ध भएको प्रदेश सभालाई सहज संचालन गर्न तथा अविश्वासको प्रस्तावको सन्दर्भमा दुई समूहबीच छलफल भएको हो।

दुई समुहको विवादले माघको ७ र २५ गते सदन संचालन हुन सकेको थिएन। ७ गते प्रदेश प्रमुखले पठाएको पत्र पढेर सकिएको प्रदेश सभाको बैठक २५ गते सत्ता पक्षका सांसदले अवरुद्ध गरेकाले स्थगित भएको थियो। अर्को बैठक माघ ९ गतेलाई बोलाइएको छ। बोलाइएको बैठक अवरुद्ध हुन नदिनका लागि राजनीतिक विषय छलफलबाटै टुंगो लगाउने गरी वार्ता भएको छलफलमा सहभागी ओली समूहका एक सांसदले बताए।

छलफलको क्रममा ओली समूहले अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ।

फागुन ९ गतेको प्रदेश सभा बैठकअघि नै विवाद सुल्झाउने उद्देश्यसहित सरकार पक्षको पहलमा दुईपक्षीय वार्ता शुरु भएको हो। यसअघि सरकार पक्षले वार्ता र छलफलका लागि कुनै पहल नगरेको आरोप लाग्दै आएको थियो।

अविश्वासको प्रस्ताव दर्ता भएको लामो समयसम्म पनि कुनै छलफलको लागि पहल नै नगरेको भन्दै दाहाल-नेपाल समूहले सत्ता पक्षको आलोचना गर्दै आएका थिए। दाहाल-नेपाल समूहका सांसद जीवन घिमिरेले प्रदेश सभाको बैठक सरकार पक्षले नै अवरुद्ध गरेको ठिक नभएको भन्दै निर्वाधरुपमा आगामी बैठक संचालनको वातावरण बनाउने बारेमा छलफल भएको बताए।

दुवै समूहबीच कारबाही भएका सांसदहरुको हकमा यो विषय राजनीतिक विषय भएकाले राजनीतिक ढंगबाट नै समाधान खोज्ने गरी छलफल भएको उनले जानकारी दिए।

सरकारका तर्फबाट आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र सांसद विमल कार्की छलफलमा सहभागी भएका थिए भने दाहाल-नेपाल समूहबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्ष्मण तिवारी सहभागी थिए। छलफलमा सरकारी पक्षले विधि नपुर्‍याई अविश्वास प्रस्ताव दर्ता भएको बताएको थियो। पुस १२ मा नेकपाका ३७ सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तीमध्ये पाँच जनाले हस्ताक्षर फिर्ता गरेको जनाएका छन्। त्यसपछि तातेको प्रदेश सभाको राजनीति अहिले पनि गरमाएको छ।

प्रतिक्रिया