काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरूले भाडादर समायोजन र स्वचालित हुनुपर्ने माग राखेका छन्।
पेट्रोलियम पदार्थको स्वचालित मूल्यको नाममा हरेक दिन भइरहेको मूल्यवृद्धि लज्जास्पद भएको भन्दै व्यवसायीले सरकारसँग यातायात भाडा समायोजन हुनुपर्ने माग राखेका हुन्।
२०६९ सालदेखि भाडा समायोजन नभएको र यातायात क्षेत्र अस्तव्यस्त भएकाले यसका लागि पहिले पनि आफूहरूले सरकारलाई विज्ञप्ति बुझाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
‘एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा यातायात व्यवसायी मारमा परेका छन्‚’ महासचिव सिटौलाले मकालु खबरसँग भने‚ ‘हामीले बारम्बार भनिरहँदा पनि नमान्ने स्थिति आयो भने माघ ८ गते महासंघको कार्यसम्पादन सचिवालयको बैठक बसेर ठोस निर्णय गर्नेछौं।’
भाडा समायोजनको विषयलाई अझै पनि हेल्चेक्र्याईँ गरे ठोस तवरबाट अघि बढ्नुपर्ने स्थिति पैदा हुने महासचिव सिटौलाले बताए।