‘नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१’ आयोजना हुने

काठमाडौँ । तुल्सी मिडियाले ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिबार राजधानीमा अवार्डको भव्य समारोह गरिने गरी तयारी सुरु भएको बताएका छन् ।

अवार्डमा ३९ विधा समावेश गरिएको छ‚ जसमा लोक, पप, आधुनिक र फिल्मअन्तर्गतका संगीत रहेका छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, सङ्गीतकार, नायक र नायिका समावेश छन् । यस्तै फिल्मतर्फ गीत, सङ्गीतकार, गायक र गायिका छन् भने सबै विधाअन्तर्गत नवगायक, नवगायिका, नवनायक र नवनायिकालाई समावेश गरिएको छ ।

प्राविधिकतर्फ सबै विधाअन्तर्गत छायांकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकअप आर्टिस्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तर्गत गीत, सङ्गीतकार, गायक, गायिका, नायक तथा नायिका छन् ।

पपुलरतर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिनेछ ।

यही फागुन ३ गतेबाट २१ गतेसम्मका लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निःशुल्क फर्मका लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधिमार्फत् पनि फर्म भर्न सकिने मिडियाले जनाएको छ ।

नेपाल बेस्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यको नाम भने अवार्डको दिनमात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ ।

प्रतिक्रिया