विराटनगरमा विद्युत् प्राधिकरणको लापरवाहीले सेवाग्राहीलाई सास्ती

  • सुमन सुस्केरा

विराटनगर । बुढिगंगा गाउँपालिका- ३ गोकुवाका धनबहादुर काफ्ले आफ्नो घरको मिटरको लागि विद्युत् प्राधिकरणमा धाउन थालेको तीन दिन भयो । उनी मंगलबार बिहान १० बजे पनि टंकिसिनबारीमा रहेको सब स्टेसनमा थिए ।

उनलाई विराटनगरमा रहेको वितरण केन्द्रबाट त्यहाँ फाइल पठाइएको थियो, त्यहाँबाट स्वीकृत गराएर फेरि विराटनगर नै लैजानुपर्ने थियो । तर कार्यालयमा बिहान साढे १० बजेसम्म पनि कोही कर्मचारी आएका थिएनन् । ‘यहाँ त मनपरी रहेछ, कर्मचारी आउने पनि टुंगो रहेनछ, काम कहिलेसम्म हुन्छ भन्ने पनि थाहा भएन,’ उनले भने ।

बुढिगंगा- २ बाँसबारीबाट आएका कोपिला श्रेष्ठ पनि एक महिनादेखि बिजुलीको मिटरको लागि धाएर हैरान भइसकेका थिए । बिजुलीको मिटरका लागि एक महिनाअघि नै विराटनगर वितरण केन्द्रमा पैसा जम्मा गरेर फायल टंकी उपकेन्द्रमा छाडेका उनले अहिलेसम्म प्राधिकरणका कर्मचारी बिजुलीको मिटर लिएर जोड्न नगएको बताए । ‘नयाँ घरमा पनि अरुकोबाट बिजुली ल्याएर बाल्नु परेको छ,’ उनले भने, ‘विद्युत्मा आएर धेरैपटक मिटर जडान गरिदिने भनेको तर आफ्नो कामै भएको छैन ।’

No description available.

मंगलबार यस्ता समस्या लिएर आउने धेरै सेवाग्राही कर्मचारी नभेटिएपछि गुनासो पोख्दै थिए । करिब साढे १० बजे काउन्टरकी कर्मचारी शान्ता कोइराला कार्यालयमा आएपछि ९ बजेदेखि बिजुलीको बिल तिर्नको लागि लाइन लागेका सेवाग्राहीले  बिल तिर्न पाए । कोइरालाले भनिन्, ‘कहिलेकाँही कार्यालयमा आउन ढिलो हुनु सामान्य हो ।’ विद्युत् प्राधिकरणको टंकीसिनबारी उपकेन्द्रमा नागरिकका समस्या सुनिदिने मानिससमेत भनेको बेला नभेटिने गरेको सेवाग्राही बताउँछन् ।

फाइल बोक्दै दौडँदै
बुढिगंगाको टंकिसिनवारीदेखि विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र करिब ७ किलोमिटर पर छ ।

टंकिसिनवारीमा उपकेन्द्र राखिएको छ‚ तर बिजुलीको मिटरका लागि विराटनगर वितरण केन्द्रमा नै सेवाग्राही पुग्नुपर्छ । फाइल तयार पारेर त्यहाँ दर्ता गराउनका लागि इन्जिनियर खोजेर दर्ता गराएपछि त्यो फाइल सेवाग्राहीले नै बोकेर टंकिसिनवारी उपकेन्द्रमा पुर्‍याउनुपर्ने सेवाग्राही काफ्लेले बताए । इन्जिनियरलाई हस्ताक्षर गराउने बेला इन्जिनियर तत्काल भेटियो भने त त्यो दिन ५० रुपैयाँको रसिद तिरेर फाइल दर्ता गरेर ल्याउन पाइयो‚ यदि भेटिएन भने फर्किएर आउनुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘त्यहाँ दर्ता भएको फाइल बोकेर टंकीसिनवारी उपकेन्द्रमा ल्याएर दिनुपर्छ,’ उनले भने, ‘टंकिसिनवारीले लेखेर अर्को दिनमात्र विराटनगर पठाउँछ, त्यो फाइल फेरि आफैँले बोकेर जानुपर्छ ।’

टंकीसिनवारीबाट पठाइएको फाइल लिएर विराटनगर गएर बिजुलीको मिटर तिर्नका लागि फाइल बुझाएर फेरि त्यो फाइल बोकेर टंकीमा ल्याएर छाड्नुपर्ने बाध्यता रहेको उनले बताए । टंकिसिनवारीमा फाइल छाडेको एक हप्ताभित्र मिटर घर-घर पुर्‍याउने भनिएको भएपनि बिजुलीको मिटर डेढ महिनासम्म पनि उपभोक्ताले पाउन सकेका छैनन् ।

सेवाग्रहीको समस्याको बारेमा विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश यादवले समस्या हुनै नसक्ने दाबी गरे । उनले सेवाग्राहीले २ दिनदेखि बढिमा एकहप्तासम्ममा बिजुलीको मिटर पाउने दाबी गरे । उनले दाबी गरेअनुसार कसैले पनि सेवा पाउन सकेका छैनन् । यही टंकिसिनवारी उपकेन्द्रमा कर्मचारी नबस्दा तथा सेवाग्राहीको कामै नभएपछि करिब ६ महिनाअघि कर्मचारी माथि सेवाग्राहीले हातपातसमेत गरेका थिए । विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रको मातहतमा रहेको टंकीसिनवारी उपकेन्द्रबाट बुढिगंगा गाउँपालिकाका उपभोक्ताले सेवा पाउँदै आएका छन् ।

प्रतिक्रिया