विद्याकी देवी सरस्वतीको पूजाअर्चना [तस्बिरहरू]

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

काठमाडौं र देशका विभिन्न ठाउँमा अभिभावकले आफ्ना छोराछोरीहरूलाई अक्षरारम्भ गराएका छन्।

तस्बिरहरू:

तनहुँको व्यास नगरपालिका–१ स्थित तनहुँ ज्ञानगङ्गा बोर्डिङ स्कूलमा मङ्गलबार सरस्वतीको पूजा गर्न विद्यार्थीको भीड । जिल्लाका सबै विद्यालयमा सरस्वतीको पूजाअर्चना गरिँदैछ ।
तनहुँको व्यास नगरपालिका–१ स्थित तनहुँ ज्ञानगङ्गा बोर्डिङ स्कूलमा मङ्गलबार सरस्वतीको पूजाको दिन बालबालिकालाई अक्षर लेख्न सिकाइँदै।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङ्गलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै । आजकै दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।
काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यार्थी । सरस्वती पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङ्गलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापश्चात् अक्षर लेख्दै बालिका । सरस्वती पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
प्रतिक्रिया