माओवादी जनयुद्ध नेपाली समाजको आवश्यकता थियो : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘माओवादी जनयुद्ध’लाई आफूले कहिल्यै नदुत्कार्ने बताएका छन् । शनिबार, ‘गुमनाम आमाहरुको कथा’ पुस्तक लोकार्पण समारोहमा भट्टराईले आफूले तत्कालीन माओवादी परित्याग गरेपनि जनयुद्धप्रतिको सद्भाव र विश्वास भने कहिल्यै नहट्ने बताएका हुन् । भट्टराईले माओवादी जनयुद्धप्रति सबैले एउटै धारणा बनाउनुपर्ने बताए । ‘जनयुद्ध नेपाली समाजको आवश्यकता थियो’, भट्टराईले भने, ‘मैले पनि कहिल्यै दुत्कारेको छैन र कसैले नकार्न पनि मिल्दैन ।’

माओवादी जनयुद्धले नेपाली समाजलाई जागृत गराउने काम गरेको भन्दै भट्टराईले माओवादी जनयुद्धप्रति नकारात्मक धारणा बनाउन नहुने बताएका छन् । ‘जनयुद्ध अपाच्य लाग्छ भने जनक्रान्ति भनौँ’, भट्टराईले भनेका छन्, ‘तर, यसप्रति नकारात्मक धारणा भने नबनाऔँ ।’

त्यसमा थारु विद्रोह, मधेश आन्दोलन, जनजाति आन्दोलनहरु पूरक आन्दोलनको रुपमा आएपनि मूल आन्दोलनको रुपमा माओवादी जनयुद्ध नै भएको भट्टराईको तर्क छ । ‘इतिहासलाई नकार्न मिल्दैन । अपराध भन्न मिल्दैन’, भट्टराईले भनेका छन् ।

प्रतिक्रिया