प्रचण्डलाई टोपबहादुरको प्रश्न– ‘अब मान्छे मारेर हुन्छ ?’

बुटवल । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जनयुद्धको धङधङी अझैसम्म नगएको बताएका छन् ।
शनिबार बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शक्ति प्रदर्शनको सभालाई सम्बोधन गर्दै ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले यस्तो बताएका हुन् ।
प्रचण्डले मांसाहारी आन्दोलन गर्ने बताउँदै मान्छे मार्न लागेको बताएका रायमाझीले भनेका छन्, ‘प्रचण्डसँग जनयुद्धको धङधङी अझै छ । मासांहारी आन्दोलन गर्ने रे । अब मान्छे मारेर हुन्छ ?’
यसैगरी रायमाझीले आफू किन ओली पक्षमा छ भन्ने कुरा जनताले बुझ्नुपर्ने बताए । प्रचण्ड र माधवकुमार नेपालले पार्टी म्याण्डेडविपरीत कदम चालेको बताउँदै रायमाझीले भनेका छन्, ‘म किन ओलीसँग छु, त्यो बुझ्नु जरुरी छ । हामीले पार्टी एकता गरिसकेपछि ओलीलाई सर्वसम्मत दलको नेता बनाएर प्रधानमन्त्री बनायौँ । प्रचण्डले प्रस्ताव गर्नुभयो, माधवजीले समर्थन गर्नुभयो । हामीले ताली पिट्यौँ । तर, एकतापछि उहाँहरुले म्याण्डेडविपरीत साथीहरुले फट्याइँ गर्नुभयो ।’
यसैबीच रायमाझीले एजेण्डा एकातिर र कदम अर्कोतिर भएको पनि बताए ।








