ओलीलाई पशुपतिनाथले पनि धिक्कार भन्छन् : नेपाल

काठमाडाैँ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफ नगर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपालले केपी ओली सिद्धान्त बिर्सेर पशुपतिनाथको शरणमा पुगेको आरोप लगाउँदै तर उनलाई पशुपतिनाथले पनि माफ नगर्ने बताए ।
‘केपी ओली तपाइँले मदन भण्डारीको नाम जप्न बिर्सिसक्नु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नु भएको छ,’ नेपालले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् चेतना भया ।’ पशुपतिनाथले पनि केपी ओलीलाई धिक्कार भन्ने र उनको पाप कसैले पनि धोई पखाल्न गर्न नसक्ने नेपालले दाबी गरे ।
जुन पार्टीले प्रधानमन्त्री बनायो ओलीले त्यही पार्टी ध्वस्त बनाइरहेको भन्दै नेपालले यस्तो कर्मका लागि उनलाई सबैले धिक्कार्नुको विकल्प नभएको जिकिर गरे ।
ओली छलफलमा नभइ आदेशमा विश्वास गर्न थालेको र जनमतमा विश्वास नभएकैले संसद विघटन गरेको आरोप पनि नेपालले लगाए । सरकारी श्रोतसाधनको दुरुपयोग गर्दा पनि धेरै मानिस काठमाडौँको सभामा ल्याउन नसकेकोमा ओली र उनी पक्षका नेताहरु दुखि भएको नेपालको दाबी छ ।








