संयुक्त आन्दोलन गर्न कांग्रेस र जसपालाई फकाउँदै नेकपाका नेता

का‍ठमाडाैँ । नेकपाका नेताहरुले संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दललाई आग्रह गरेका छन् । नेकपाको दाहाल-नेपाल पक्षले बुधबार काठमाडौँमा गरेको विरोध सभालाई सम्बाेधन गर्दै नेताहरुले देशमा विधि मिचिएको र संविधानमाथि नै आक्रमण भइरहेको निष्कर्ष निकालिसकेका दलहरुबिच संयुक्त आन्दोलनका लागि अलमल हुन नहुने बताएका हुन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता, संविधान जारी गर्दाको सरकारको नेतृत्वकर्ता तथा लोकतान्त्रिक पार्टी हुनुका नाताले संसदीय र लोकतान्त्रिक मूल्य मान्यतामाथि हस्तक्षेप हुँदा कांग्रेस चुप बस्न नहुने प्रचण्डको भनाइ छ । यसका लागि नेकपा सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए।

‘शान्ति प्रक्रिया संविधान निर्माण लगायत सबै कामको जस लिने तर यसैमा घात हुँदा चुप बस्न सुहाउँदैन’, प्रचण्डको भनाइ छ । लोकतान्त्रिक पार्टी हुनुका नाताले देशमा अब चाहिँ लोकतन्त्र खतरामा छैन भन्ने अवस्था सिर्जना सिर्जना गर्नका लागि पनि आन्दोलनमा आउनुपर्ने र यो कांग्रेसका लागि यो अवसर भएको प्रचण्डले बताए ।

‘शेरबहादुर जी, तपाइँहरुका लागि यो अवसर हो हामी तपाईँहरुसँग हातेमालो गर्न तयार छौँ’, प्रचण्डले भने । नेपालमा लोकतन्त्रको हत्या भइरहेका बेला छिमेकीसहित सबै अन्तराष्ट्रिय शक्तिहरुले त्यसविरुद्ध आवाज उठाउने प्रचण्डले विश्वास व्यक्त गरे ।

यसअघि, नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगामी र निरंकुश बाटोतर्फ अघि बढिरहेकाले उनलाई परास्त गर्न सबै दल र शक्ति मिलेर अघि बढ्नुपर्ने बताए । प्रवक्ता नारायणकाजी, नेता जनार्दन शर्मालगायतले पनि कांग्रेस, जसपा लगायतका दल र नागरिक समाजसमेत हातेमालो गरेर अहिलेको कदमका विरुद्धमा उभिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीकाे कदमकाे विराेधमा तीन दलले बेग्लाबेग्लै विराेध प्रदर्शन गर्दै आइरहेका छन् । सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालत तथा निर्वाचन आयोगतर्फ सँकेत गर्दै धेरैतिर नहेरी जनताको अनुहार हेरेर फैसला गर्न आग्रह गरे ।

अर्को प्रसँगमा प्रचण्डले सभा कस्तो हुन्छ भन्ने हेर्न आजको सभामा आउन प्रधानमन्त्री ओलीलाई आग्रह पनि गरे । उनले चेतावनीकाे भाषामा भने, ‘फेरि १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार आउन नपरोस् ।’

ओलीको कदम गलत भएकाले आफुहरु लगातार विरोधमा उत्रिएको र चुनाब घोषणा नौटङ्की मात्र भएको प्रचण्डको टिप्पणी छ- ‘केपीको चुनावी नौटङ्की हुनेवाला छैन ,त्यसको भ्रममा कोही नपरौँ ।’

प्रतिक्रिया