ट्रम्प अमेरिकाको कलाकार सङ्घबाट निष्कासित

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कहिल्यै सदस्य नबन्ने गरी कलाकार सङ्घबाट बाहिरिएका छन् । अमेरिकाको फिल्म, टेलिभिजन तथा रेडियोको कलाकारको संस्था ‘युएस स्क्रिन एक्टर्स गिल्ड, फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट’ले ट्रम्पलाई फेरि कहिल्यै सदस्य बन्न नपाउने गरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
शनिवार भएको भिडियो कन्फ्रेन्समा ट्रम्पले दिएको राजीनामा स्वीकृत गर्दै सङ्घले उनलाई जिन्दगीभर सदस्य बन्न नपाउने निर्णय गरेको सिन्हवाले जनाएको छ । सङ्घको भनाई उद्धृत गर्दै सिन्हवाले लेखेको छ, ‘ उनी शासन सत्तामा रहँदा उनले सङ्घका सदस्य र पत्रकारलाई गरेको व्यवहारका कारण उनलाई सदाका लागि निषेध गर्ने निर्णय गरिएको हो । उनले सङ्घको भावना र मर्म विपरीत गतिविधि गरेका थिए ।’ डोनाल्ड ट्रम्पलाई सदाका लागि सदस्य बन्नबाट रोक्ने निर्णय साङ्केतिक भएको सङ्घका सभापति गाब्रिएला कारटेरिजले बताएका छन् ।
ट्रम्प सन् १९८९ देखि सङ्घको सदस्य रहँदै आएका थिए । सङ्घमा फिल्म, टेलिभिजन तथा रेडियोमा काम गर्ने १ लाख ६० हजार कलाकार तथा पत्रकार सदस्य रहेका छन् । सङ्घको अघिल्लो महिना बसेको बोर्ड बैठकले ट्रम्पले संस्थाको मर्म विपरीत काम गरेको र अनुशासन समिति समक्ष उनले स्पष्टीकरण दिनु पर्ने प्रस्ताव पास गरेको थियो ।








