सत्ता र शक्तिको दुरुपयोग !

  • धनबल राई

काठमाडौंँ । नागरिकबाट प्राप्त मतको खुड्किला टेकेर सत्ताको मैदान उक्लिएका नेताहरु अहिले उनै नागरिकप्रति रत्तिभर पनि जिम्मेवार देखिँदैनन् । बरु उल्टो शक्तिको उन्माद देखाउँछन् र नागरिकलाई नै सास्ती पुग्ने खालका काम गर्छन् र भन्छन्, ‘यो हाम्रो बाध्यता हो ।’

उसो त चुनाव नजिक आउँदा नागरिकका घरघरमा मात्र होइन, खेतबारीमा समेत पुग्ने, घाँस काट्न, खेती गर्न, गाइभैँसी दुहुनसमेत तयार भएर चेपारो घस्ने नेता चुनावको भोलिपल्टदेखि तिनै नागरिकलाई नचिनेजस्तो गर्छन् भन्ने कुरा नौलो रहेन ।
समय बित्दै जाँदा यो क्रममा केही सुधार आउला, यो प्रवृत्तिमा केही सुधार होला अनि नेताहरु बिस्तारै नागरिकप्रति जिम्मेवार र जवाफदेही होलान् भन्ने नागरिकको आशा र अपेक्षा भने दशकौंसम्म पनि पूरा हुन सकेको छैन । बरु यो क्रममा अझ बढोत्तरी पो भएको हो कि जस्तो देखिन्छ ।

यसको पछिल्लो उदाहरणका रुपमा नेकपा विभाजनपछिका परिदृष्यलाई लिन सकिन्छ ।

विरोधका नाममा बन्द हड्ताल गर्ने, शक्ति प्रदर्शनका नाममा माझ सडकमा कार्यक्रम गर्ने र आवतजावत बन्द गर्ने, तोडफोड जस्ता उछृङ्खल गतिविधि गर्ने क्रम ह्वात्तै बढेको छ । कहिल्यै बन्दहड्ताल गर्दैनौँ भन्ने लिखित प्रतिबद्धता जनाएका दलहरु आफ्नो बाध्यताका नाममा त्यस्ता गतिविधिलाई निरन्तरता दिन अलिकति पनि लाज मान्दैनन् । यसले उनीहरु नागरिकप्रति जिम्मेवार र आफ्नै भनाइप्रति जवाफदेही छैनन् भन्ने प्रष्ट हुन्छ ।

यस क्रममा उनीहरु सत्ता र शक्तिको सक्दो दुरुपयोग गर्न पनि पछि पर्दैनन् भन्ने नेकपाको ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि गरेको आमसभामा पनि देखियो ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरेको आमसभाको मञ्च तयार पार्दादेखि कार्यक्रम सकाउँदासम्ममा सत्ता र शक्तिको चरम् दुरुपयोग गरेको स्पष्ट रुपमा देखिन्थ्यो ।

सडकको बीचमा राखिएका फलामे डिभाइडर आमसभाको तयारीका लागि भन्दै हटाइयो । सडक विभागले झण्डै ४ वर्षअघि राखेको उक्त डिभाइडर ३ घण्टाको कार्यक्रमका लागि हटाइयो । डिभाइडर हटाउँदा सडक विभागसँग कुनै समन्वय गरिएन । अब डिभाइडर त पुनः चाहिन्छ नै होला । त्यो त पक्कै प्रधानमन्त्रीकै पार्टीका ‘सेनामेना’ले त पक्कै नराख्लान् । एउटा नेताको कार्यक्रमका लागि कुनै संरचना भत्काउने फेरि बनाउने र त्यसमा सरकारी खर्च प्रयोग गर्ने कुरा कति उचित हो त ? सुन्दा सानो जस्तो लागेपनि प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका दर्जनौं होइन सयौं कार्यक्रम र बैठक भएका छन् ।

कुल वंश प्रतिष्ठानका कार्यक्रमदेखि पार्टी प्रवेशसम्मका कार्यक्रम बालुवाटारमा हुने गरेका छन् । ती कार्यक्रमको बिल भरपाई त पक्कै कुनै पार्टी वा संस्थाले त तिरेका छैनन् । आम नागरिकको पसिनाबाट संकलित राज्यको ढुकुटीबाट यस्ता शिर्षकमा खर्च गर्नु जायज कसरी हुन्छ र ?

सभाको अघिल्लो दिन देशका ठाउँठाउँमा गरिखाने नागरिकमाथि नेकपाको दाहाल–नेपाल पक्षका नेता÷कार्यकर्ताले गरेको तोडफोड र आगजनीले पनि राजनीतिक दलहरु, नेताहरु र उनीहरुले प्रशिक्षित गराइरहेका कार्यकर्ताहरु कस्ता छन् भन्ने कुरा स्पष्ट पारेकै छ ।

यसअघि गत १२ माघमा पनि प्रधानमन्त्री आफू निकटको सभालाई सम्बोधन गर्न सरकारी खर्चमा हेलिकोप्टर चढेर दाङ पुगेका थिए । मन्त्रीहरु सरकारी खर्चमा राजनीतिक दलका र आफ्ना नीजि काममा गएका उदाहरण त कति हो कति छँदैछन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटनपछि ह्वात्तै बढाएको देश दौडाहामा भएको खर्च सबै सरकारी राज्यकोषबाटै गरिएको छ । यो सत्ता र शक्तिको दुरुपयोग नभएर के हो त ? प्रधानमन्त्री मात्र होइन अधिकांश मन्त्रीहरु पनि सरकारी खर्चबाटै आफ्नो राजनीति धानिरहेका छन् । अर्को पक्षभन्दा ठूलो भेला गराउन र संसद् विघटन सही थियो भन्ने जिकिर गर्नका लागि मेची महाकाली गर्न सक्ने प्रधानमन्त्री ओली १० महिनादेखि सिंहदरबार भने छिरेका छैनन् ।

यसबीचमा उनी पार्टी कार्यालय पनि एकाध पटक मात्र गएका छन् । नत्र उनी सरकारी काम पनि र पार्टीका काम पनि सरकारी निवासबाटै भ्याइरहेका छन् । यस्तो लाग्छ, सरकारी निवास सरकारी कार्यालय र पार्टी कार्यालय पनि हो ।

‘सानो कुरा’जस्तो लागेपनि यो भ्रष्टाचार अर्थात् भ्रष्ट आचार नै हो ।

प्रतिक्रिया