चितवनमा कलाकारको च्यारिटी क्रिकेट

काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा खेलाडी र कलाकारबिचको च्यारिटी क्रिकेट खेल आज भैरहेको छ । आर्थिक सहयोगका लागि गरिएको निर्माण स्थलमा रहेको नमुना खेल बिहान १० बजेदेखि सुरु भएको छ । खेलको आयोजना गृष्म ब्रोडकास्टिङले गरेको हो ।
खेलका लागि ४५ जना कलाकार तथा खेलाडीको टोली हिजै चितवन पुगिसकेको छ । हरि खड्का, दीपक विष्ट, संगीना वैद्य, विनोद भण्डारी, रेश्मा भण्डारी, मण्डे काजी श्रेष्ठ, सदिना श्रेष्ठ लगायतका खेलाडी चितवन पुगेका छन् ।
कलाकारहरू सन्दीप क्षेत्री, दयाहाङ राई, रामकृष्ण ढकाल, बद्री पङ्गेनी, प्रकाश सपुत, प्रमोद खरेल, मिस नेपाल शृङ्खला खतिवडा लगायत सहभागी छन् । धुर्मुस ए र बी तथा सुन्तली ए र बी गरी चार टोली बनाएर १० ओभरको खेल खेलाइने छ । दुई खेलको विजेता टोलीबिच आजै फाइनल खेल पनि हुने छ ।








