राम्रा दिमाग भएकाहरु प्रतिगमनको विरोधमा छन् : प्रचण्ड

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रा दिमाग भएकाहरू प्रतिगमनको विरोधमा रहेको बताएका छन् । बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।
नागरिक समाज, लेखक र बुद्धिजिवीहरु सरकारको असंवैधानिक कदमको विरोधमा रहेको अध्यक्ष प्रचण्डको तर्क छ । ‘यो पार्टीभित्रको मात्रै विवाद होइन । यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो,’ उनले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्, उनीहरू कम्युनिष्ट होइनन् । यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन् ।’
केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने उनले दावी गरे । ‘हामी संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा छौँ । यो बाटो छोडेर हामी कोही पनि नेता पलायन हुने छैनौं,’ अध्यक्ष प्रचण्डले भने ।
एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको उनको भनाई छ । ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन,’ उनले भने, ‘यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें ।’








