धरानमा ५० शय्याकाे प्रादेशिक अस्पताल बन्दै

धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले शिलन्यास गरेका छन् ।

सुन्दरहरैचाको वडा नं. ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको छ ।प्रदेश नं. १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले बताए ।

कोरोनाको महामारीपछि सङ्घीय सरकारले नीतिगत रूपमा नै प्रत्येक प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रतिष्ठानको प्रतिष्ठानको ४४औँ सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

अस्पताल बनाउन सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. रेग्मीले जानकारी दिए । शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, सामाजिक विकासमन्त्री हिक्मत कार्की लगायतको उपस्थिति थियो ।

निर्माण सम्पन्न भएपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन र व्यवस्थापन गर्ने छ । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. रेग्मीले हस्ताक्षर गरे ।

सङ्घीय सरकारले ८ करोड बजेट अस्पताल निर्माणका लागि निकासा गरिसकेको छ । – रासस

प्रतिक्रिया