जाेखिम भत्ता नदिएकाे भन्दै वीरका चिकित्सक धर्नामा

काठमाडौं । वीर अस्पतालका चिकित्सकहरुले आज (मंगलबार) पनि अस्पताल परिसरमा धर्ना दिएका छन् । अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारमा खटाएकाे तर कोभिडको जोखिम भत्ता नदिएको भन्दै चिकित्सकहरुले आज पनि धर्ना दिएका हुन् ।

६ दिनदेखि जारी धर्नामा सहभागी चिकित्सकहरूले ‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि ? आवासीय चिकित्सकको योगदानको सम्मान गरौँ, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔँ लगायत लेखिएका प्लेकार्ड बाेकेका छन् ।

कोरोना संक्रमितको स्वास्थ्य उपचारमा खटिएका आवासीय चिकित्सकलाई सरकारले तोकेको कोभिड-१९ जोखिम भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूकाे भनाइ छ । माग सम्बाेधन नभएसम्म आन्दोलन जारी राख्ने तथा आकस्मिक सेवा समेत बहिष्कार गर्ने उनीहरूकाे चेतावनी छ ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरुले गत बिहीबारदेखि धर्ना सुरू गरेका हुन् । उनीहरूले सुरूकाे दिनदेखि नै आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया