दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की बैङ्क्वेटमा शुरु भएको छ ।

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध भएका प्रदर्शनहरुको समीक्षा, आगामी रणनीतिसँगै विविध विषयमा छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिएका छन् । ‘बैठकमा नयाँ विषयवस्तु भन्दा पनि भइराखेकै कुराहरुलाई कसरी मूर्त रुप दिने भन्नेबारे नै केन्द्रित हुनेछ’, नेता पोखरेलले मकालु खबरसँग भनेका छन्, ‘खासगरी, अहिलेसम्मको समीक्षा, भावी रणनीति तथा विविध विषयमा छलफल हुनेछ ।’

बिहान ११ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको थियो । थप तयारी नपुगेको भन्दै सारिएको बैठकमा दाहाल–नेपाल निकटका सबै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

दाहाल–नेपाल समूहले आफूसँग नेकपाको बहुमत सदस्य भएको दाबी गर्दै आएको छ । ४ सय ४१ सदस्यमा आफूसँग २ सय ९७ सदस्य भएको दाहाल–नेपाल समूहको दाबी छ ।

गत १५ गते निर्वाचन आयोगले दुवै समूह (दाहाल–नेपाल र केपी शर्मा ओली)लाई थप छलफलको लागि बोलाएको थियो । जसमा दाहाल–नेपाल समूहले १८ गतेसम्मको लागि समय माग गरेको थियो भने ओली समूहले थप कामकारबाही अगाडि बढाउन माग गरेको थियो । दाहाल–नेपाल समूहले सोही विषयमा समेत थप छलफल गर्नको लागि बैठक राखेको बताइएको छ ।

प्रतिक्रिया