नोटसँग चोट साट्नेहरु

  • संकेत कोइराला

एकजना ब्राह्मण पुत्र गुरुकुल आश्रममा बसेर दीक्षित भई प्रमाणपत्र लिएर घर फर्किए । उनले आफूले प्राप्त गरेको प्रमाणपत्र बाबुलाई देखाए । बाबुले छोराको अध्ययनको प्रशंसा गर्दै एउटा प्रश्न सोधे– ‘बाबु, तिमीले आफ्नो अध्ययन त पूरा गर्यौ । तर, भन त पापको जननी के हो ?’

बाबुको प्रश्नले छोरा अक्क न बक्क परे । आफूले पढेका सबै शास्त्रका ठेली सम्झिए । तर कतै यसबारे व्याख्या छैन । गुरुका वाणी सम्झिए, तिनमा पनि यसबारे केही भनिएको छैन । छोराको ज्ञानबाट असन्तुष्ट बाबुले जसरी भएपनि यसको जवाफ लिएर मात्र घर फर्कन आदेश दिए ।

उत्तर खोज्न उनी शहरका गल्ली चहार्न थाले । उनको एक नगरवधुसँग भेट भयो । नगरबधुले छटपटिनुको कारण सोधिन् । ब्राह्मणपुत्रले रिट्ठो नबिराइ बताइदिए । यसलगत्तै महिलाले उनलाई आफ्नो घरमा पसेर घर पवित्र पारिदिन आग्रह गरिन् । ब्राह्मण भएर नगरबधुको घर जान उचित छैन भन्दै उनी अघि बढे । उनी अगाडि के बढेका थिए, ती महिलाले एउटा असर्फी दिँदै भनिन्– ‘कृपा गरेर भित्र पाइला मात्र हालिदिनुस्, अरु केही पर्दैन, बस् मेरो घर पवित्र पारिदिनुहोस् ।’ ब्राह्मणले सोचे – भित्र पसिदिए मात्रै असर्फी हात लाग्छ भने के फरक पर्यो र?’ उनी घरभित्र प्रवेश गरे । यसपछि अर्को असर्फी दिँदै महिलाले उनलाई ओछ्यानमा बसिदिन आग्रह गरिन् । खल्तीमा असर्फी हाल्दै ब्राह्मणले त्यो इच्छा पनि पूरा गरिदिए । नगरबधुले अर्को असर्फी दिएर सुनको गिलासमा एक गिलास पानी खाइदिन भनिन् । त्यसका लागि पनि ब्राह्मण तयार भए । सुनको बालाको लोभ देखाएर नगरबधुले ब्राह्मणको हातबाट एक गाँस भात खाने अन्तिम इच्छा प्रकट गरिन् ।

असर्फिको लोभमा फसिसकेका ब्राह्मणले यो माग पनि स्वीकारे । उनले भात ख्वाउन हात मात्र के उठाएका थिए, नगरबधुले गालामा तोरीको फूल देख्ने गरी झापड हानिन् । र भनिन्– ‘तिमीले असर्फीको लोभमा म जस्ती नगरबधुको घरमा पस्यौ, खाटमा बस्यौ, पानी ख्वायौ । हुँदाहुँदा मलाई भात खुवाउन पनि तयार भयौ हैन ? तिमीले खोज्दै हिँडेको प्रश्नको जवाफ यही हो । लोभ नै अपराधको जननी हो । तिम्रो प्रश्नको जवाफ लिएर पिताजीसँग जाऊ ।’ चित्तबुझ्दो जवाफ पाएपछि सबै लोभ विसर्जन गर्दै ब्राह्मणपुत्र घरतर्फ लागे ।

हाम्रा नेताहरुको छिमेकी देश भारत र चीनको भ्रमण अन्ततः त्यही ब्राह्मण पुत्रको जस्तो हुने गरेको छ । जाँदा राष्ट्रियताका भारी लिएर जानेहरु फर्कंदा छोरा छोरी, बहिनी ज्वाइँ, भान्जा भान्जी साला साली लगायतलाई डाक्टर, ईन्जिनीयर बनाउने करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर फर्किनु आमप्रवृत्ति हो । नेपालीका लागि आउने कोसेली भनेको पेन्गुइनले लुगा लाएझैं दौरा सुरुवालमा खिचिएका बेढंगे फोटा मात्रै हुन् । वर्षेनी आधा खरब बढी डलरको व्यापार गर्ने यी दुई देश बीचका हामी नेपाली त्यो कुखुराको भाले भएका छौं, जो बासे पनि नबासे पनि बिहान हुन कुनै बाधा पर्दैन ।

नेपाली भूमी लिपुलेकलाई हेर्ने यी दुईबीचको समान दृष्टिकोणले पनि यस तथ्यलाई पुष्टि गर्छ । बतासे कुखुराको अडाझैं नेपाली माटोलाई उपयोग गर्ने समान नीतिले पनि हाम्रो कूटनीतिक, नेताहरुको राष्ट्रवादी अलाप ‘लाटाले बाउ घोक्र्याएको’ भन्दा पर छैन । लोकतान्त्रिक मुलुकको सरकार प्रमुख आफूलाई हेडसर बनाउने संसद् नै खरानी बनाएर विधिको शासनका पक्षमा रातदिन सुरदास देखिन्छ भने त्योभन्दा पाखण्ड अरुथोक केही हुँदैन । पाएको दुई तिहाई बहुमत सनकका भरमा स्वाहा गरेपछि फेरि अर्को दुई तिहाइको दुहाई दिन कुन नैतिकताले काम गर्छ ?

तिब्बती शरणार्थीका सारथी दलाई लामा वर्षौंदेखि भारतमा आसन जमाएर बसेका छन् । प्रमुख नेताले नै शरण पाएको मुलुकमा लोकतन्त्रको मर्यादामा कुनै आँच आएको छैन । व्यापारमा उतारचढाव आएको तथ्यांकले देखाउँदैन । द्विपक्षीय सम्बन्ध मजबुत छ । कूटनीतिका खम्बाहरु बज्रजस्तै दरिला छन् । बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका पश्चिमालाई लघारेर यी दुई देशले गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने विश्वास लिइँदैछ । तर, नेपालमा भने गेरु बस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भूइँचालो जान्छ ।

ठूलाबडा मुखियाहरुले एक चीन नीतिबारे दिनमा दशौंपल्ट स्पष्टिकरण दिनुपर्छ । यो कस्तो कूटनीति हो ?

नागरिकता लिएर के गर्नु एकमुठी चिल्ला सुकिला बाहेकका नेपाली जनता आफ्नै आँगनमा शरणार्थीको नियति बाँच्न बाध्य छन् । अर्कातिर थैली र मजेत्रोमा पैसा बटारेर बोक्ने जनता भएका देशमा जाली नोटको कारोबारको सन्दर्भ दिनरात उठ्नु, संसारका मानिस एउटै गाउँमा रुपान्तरित भइ सभ्य समाजको परिकल्पना भएको विश्वमा नागरिकता नामको चिर्कटोका विषयमा दिनरात तर्क, कुतर्क अनि माथापच्ची चल्नु पछाडिको पहेली बुझी साध्य छैन ।

नेपालको राजनीति एकदम सरल छ । सिंहदरबारले सत्ताको राप अनि तापले नभेटेकाहरुलाई सम्बोधन गर्नेबित्तिकै देशका तमाम समस्या समाधान हुन्छन् । जसले जतिसुकै डोरी बाटे पनि आखिर कृषकले समयमा मल बीउ, न्यायमा सर्वसाधारणको पहुँच अनि विधिको शासन बाहेक कसले के नै मागेको छ र ?

एउटी नारी भृकुटी चीन पुगिन्, साइनोको सेतू बनिन् । अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे । बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे । अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे । गिद्दे छापाखाना प्रारम्भ गरे । भारतका मुख्यमन्त्रीहरुले बिल गेट्सलाई राज्यमा बोलाएर कम्प्युटर शिक्षाको अभियान जोडतोडसाथ चलाए । यताका मुख्यमन्त्रीले सीडीओको पोल प्रधानमन्त्रीलाई लगाएर तीन वर्ष बिताए । प्रदेशको नाम घोषणा जीवनको पहिलो र अन्तिम काम बन्यो । १ र २ नम्बर प्रदेशले त त्यही काम गर्न सकेका छैनन् । यो दृश्यले भन्छ– मुलुक कसैले चलाएको छैन, आफैँ चलेको छ । यस्तो निष्प्राण ढंगले मुलुक चल्नु र रोबर्ट एकै हो ।

एक्काइसौं शताब्दीमा सभ्य भनिएका नेताहरु यताबाट जाँदा सोच्दा पनि अशिष्ट र जंगली लाग्ने जातीवादी नारा लिएर जान्छन् अनि उताबाट झापड पाएपछि निगुरमुन्टी न भएर फर्किन्छन् । आफ्नै घरलाई अनुशासनमा राख्न नसकेर छोराछोरी नै चार दिशातर्फ मुख फर्काउने अवस्था झेलिरहेका उनीहरुलाई संघीयता शब्द सुँगा शैलीमा कण्ठ छ । तर, त्यसको परिभाषा थाहा छैन । आफ्नै परिवारलाई न्याय गर्न सक्ने क्षमता नभएकाहरुबाट क्षेत्रीय राज्यको अभ्यास हुनु नरकयात्रा सिवाय केही होइन । मुलुकमा  वित्तीय अनुशासनका कुरा गर्ने मान्छे पागल करार हुने अवस्था छ । झन् लोकतन्त्र त दुई तीन दलले कोरलेको अण्डाजस्तो भएको छ । उनीहरुले जुन रंगको अण्डा कोरलेर दिन्छन्, त्यसैलाई सालिग्राम मानेर सबैले पूजा गर्नुपर्ने रे । देश अब नेताले हैन, एजेन्टले चलाउने दिन सघन रुपमा देखिदै आएको छ ।

घोडाभन्दा अघि बग्गी दौडियो भने के हुन्छ ? हामी अहिले त्यही उल्टो यात्रामा छौं । सिंहदरबार सधैं सिंहदरबार धाउने र त्यहीँ वरिपरि छाउनेहरुको बपौतिजस्तै बनेको छ । तर सिंहदरबारका गद्दीसिनहरुले त्यहाँ पहुँच नपुगेकाहरुमा दुरदृष्टि कहिल्यै मिल्काउन सकेनन् ।

शासन व्यवस्था तापको अखडा बन्यो ।  त्यसलाई प्रकाशमा बदल्ने हिम्मत कसैले गर्न सकेनन् । राजनीतिमा तोड्ने कैंचीहरु धेरै जन्मिए । सानै होस् न जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरु एक्लिए ।

समयसँगै युनिभर्सिटीको प्रमाणपत्र लिनेहरु बढे होलान् तर जनताको चेतना, आकांक्षा र आवश्यकतामा त्यति ठूलो अन्तर आउँदैन । हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट  कम्प्युटरमा प्रवेश गरेको मात्र हो ।

आजभन्दा ६ दशकअघि राजा महेन्द्रले निकालेको शाही विज्ञप्ति अहिलेका राष्ट्र प्रमुखले निकाल्ने भन्दा अन्तर छैन । जसमा भनिएको छ– ‘जनता पनि अघिभन्दा बढी मात्रामा होशियार र चेतनशील भैसकेकोले देश र जनहितको काम गरे नगरेको थाहा पाउने भइसकेका छन् । यो तथ्यलाई सबैले बुझी, राजनैतिक पार्टीहरुले पनि वर्तमान परिस्थितिमा परस्परको मतभेद, ईष्र्या र द्वेष बिर्सी, समयको मागलाई बुझी, देश र जनहितको ख्याललाई ध्यानमा राखी, मातृभूमिको सेवा नै परम कर्तब्य हो र देशको कल्याण हामी सबैको कर्तब्य हो भन्ने मूल मन्त्रलाई राम्ररी सम्झेर कार्यक्षेत्रमा आउने बेला छ । अब सबैले दलगत स्वार्थ र सङ्कुचित मनोभावनालाई त्यागी मुलुकलाई सुदृढ तरिकाले एकताको मजबूत आधारमा अघि बढाउँदै लैजानु पर्दछ ।’

राजालाई समेत आफ्नो पार्टीको सदस्य बनाएको देशकै सबैभन्दा जेठो दल प्रजा परिषद्का युवा कार्यकर्ता यति जोशिला थिए, जो सुरुवालको इँजारभित्र साइनाइट बोक्थे । प्रजातन्त्रका खातिर कफन बाँध्न तयार उनीहरु राणाको कब्जामा पर्ने अवस्था आए साइनाइट सुँँघेर मृत्युवरण गर्ने तर पार्टीको सूचना नचुहाउने तयारीमा देखिन्थे । बयान, बकपत्र, बिजुलीको झड्काभन्दा उनीहरुका लागि मृत्यु प्यारो थियो । साइनाइट सुँघेर कसैले आत्महत्या गर्यो भने त्यो ब्रह्महत्या हुन्छ भन्ने डरले राणा शासक युवाको खानतलासी गर्थे । एकपटक त एउटा युवाको इँजारमा भेटिएको धुलो खानेकुरा मिसाएर कुकुरलाई दिँदा कुकुर ठाउँका ठाउँ मरेको थियो । साइनाइट उपलब्ध गराएको भनेर कम्पाउन्डर चन्द्रमान सैंजूलाई कठघरामा उभ्याइयो । सत्य बकाउन उनलाई केरकार, पिटपाट, कोर्रा, कटक र बिजुली गरी घोर यातना दिइएको थियो । जुन घटनालाई साइनाइट पर्व भनेर पनि केही इतिहासकारले व्याख्या गरेका छन् । हो, यस्तो दल प्रजा परिषद् आज कहाँ पुग्यो ?

आफूलाई संसारको निर्विकल्प शक्ति भन्ने दावी गर्नेहरुले यो तथ्यलाई पनि ह्याकुलामा राख्न जरुरी छ । संसारमा निर्विकल्प र अन्तिम सत्य मानिने मृत्युका विषयमा पनि बैकल्पिक बहस हुन थालेका छन् । नानीमैयाँदेखि करिमा बेगमले जितेको अपवादलाई राजनीतिको व्याकरण फेरिएको रुपमा हेर्नुहुन्न । आखिर तिनीहरु जसरी आए, उसरी नै गए । संसारमा हातखुट्टा नभएका करोडौं छन् तर बजारमा तिनीहरुका लागि भनेर सर्ट, पाइन्ट त सिलाइएको हुन्न नि । मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरुले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् ।

तत्कालिन राजा महेन्द्रको भाषा आफैँ बोल्छ–‘आजदेखि भ्रष्टाचार निवारण आफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालू गर्ने भएको छु । त्रुटि मानिसबाटै हुन्छ । त्रुटी दोहरिन नदिनु पनि मानिसकै गुण हो । जनताको आवाजलाई महत्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सो बमोजिम यथाशीघ्र जनताको विश्वास पात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु ।’ यसखाले गल्तीबाट गल्ती सिक्ने दुष्चक्रबाट कहिले मुक्ति पाइएला खै ?

प्रतिक्रिया