रंगहिन ढंगहिन भएर सिंहदरबार गएकाहरु

एकदिन केपी ओली र पीके दाहाल कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्ने वित्तिक्कै पीकेलाई कुनै छनक नै नदिई केपी हत्त न पत्त एउटा रुखमा उक्लिए छन् । र हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु पीके छेउमै आइसकेछ । त्यसैपनि भूमिगत युद्धले खारिएका पीकेलाई सुझेछ–‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’ उनले त्यसै गरेछन् । भालु आएर तलदेखि माथिसम्म पीकेको शरीरका हरेक भाग सुँघेछ । सास पनि रोकेर सुतेका पीकेको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रुख चढेका केपी तल ओर्लिएर सोधेछन्–‘भालुले तपाईंको कानमा के साउती गर्यो कमरेड ?’

रिसले आगो भएका पीकेले जवाफ दिएछन्–‘भालुले भविष्यमा त्यस्ता साथीहरुसँग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा सहयात्री, कुल, पितृ सबै बिर्सन्छन र आफ्नो मात्र स्वार्थ हेर्छन् ।’

नेपाल एउटा यस्तो देश हो, जहाँ जो कसैको इमानप्रति शंका गरिन्छ । हुनपनि भगवानको मूर्ति उपहार दिएर त्यही मन्दिरको गजुर उडाउने संस्कृति हामीले कमाएको स्वधर्म हो । आराध्यदेव पशुपतिनाथ मन्दिर संरक्षण गर्ने संस्थाको हाकिम सरकारले नभएर पशुपति हाताकै बालुवा उधिनेर धनी भएको ठेकेदारले बनाउँछ । बालुवा ठेकेदारले बनाउने हाकिमको असली पशुपतिनाथ को हुन्छ ? आफैं स्पष्ट छ ।

आमाको स्याहारमा रहेको पखेटा पनि उम्रिनसकेको परेवाको बच्चा टुंडिखेलमा ठूला मान्छेको हातबाट उडाएर उत्सवको शुभारम्भ हुन्छ । त्यो अवोध बच्चा एकैछिनमा कागले आहारा बनाएको दृश्य कसैलाई बिझाउँदैन । सरकारी गरिबीको उपचार गाउँको नामुद जँड्याहालाई बाख्रा अनुदान दिएर शुरु हुन्छ । अर्कोपटक निरीक्षणमा जाँदा जाँडको सितनमा बाख्रा स्वाहा भइसकेको हुन्छ । अनुदान दिनेले आफ्नो जागिर बचाउन बाख्राले तीनपुस्ता सन्तान उत्पादन गरेको कागजी भर्पाइ बनाउँछ । देशैभरि प्रगति प्रतिवेदनको ठेली बनेपछि कृषिमन्त्री ठाँटिएर संसदमा कुर्लन्छन–‘नेपाल खसीको मासुमा आत्मनिर्भर भयो ।’ ताली पड्काउनकै लागि नियुक्त सत्तारुढ ‘रोबट’हरु टेबल ठोक्छन् ।

पार्टी सभापतिले सरकारबाट वैध, अवैध कुत आर्जन गरिरहेका कारण प्रतिपक्षलाई यस्ता विषय बालै भएन । स्वर्गद्वारी मन्दिरको बचेखुचेको घरखेत कार्यकर्ताको नाममा दर्ता गराउन कथित भूमि आयोग गठन हुन्छ । कार्यकर्ता भर्तीकेन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बीउ रोपिन्छ । ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाईं, सालासाली, भाइ भतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन् । यसैको परिणाम सरकारको नीति तथा कार्यक्रम आएको चार महिनामा विकास खर्च पाँच अर्ब, साधारण खर्च आधा खर्ब नाघ्छ । कोरोना त अत्तो थाप्ने सजिलो बाहाना मात्र हो । जे गर्छ तदर्थवादले गर्छ ।

मुलुकको हितका लागि तामो, तुलसो छोएर कसम खानेहरु नै विद्यमान विधि खरानी बनाउने मतियार प्रमाणित हुँदै आएका छन् । बदमासी गर्न खेलाडी होइन, नियम सच्याइन्छ । आफूले चाहेको व्यक्ति ल्याउन वा मन नपरेको मानिस मिल्काउन ऐन, नियम तलमाथि गरिन्छ । सिंहदरबारले हात्ती दिने उद्घोष गर्छ, जनताको हातमा कुखुराको चल्ला पुग्छ ।

हिजो कांग्रेसले वीपीका नाममा सटर खोलेजस्तै आज मदन भण्डारीका नाममा दर्जनौं उत्पादन केन्द्र खोलिएका छन् । ती केन्द्रमा मदनका उपासक नभएर आफू अनुकूलका दास तयार गरिन्छन् । दोष क्रिश्चियनका चर्चले भोगे पनि साँचो अर्थमा दलका गुठीले समाज खण्डित गरेका छन् । सर्वहाराको फूलभित्र सर्वआहाराका झुसिलकिराहरु छ्यापछ्याप्ती छन् ।

कमाइका प्वाल बन्द भएपछि प्रधानमन्त्री भइसकेका झलनाथ खनाल आफ्नै नाममा प्रतिष्ठान खोलेर चुनावी र भात खाने खर्चको जोहो गर्छन् । यदि देशको नेतालाई दुईछाक भात खान समस्या भएको हो भने राज्यले स्वविवेकीय निर्णय लिनुपर्छ । तर, झलनाथ खनालले पालेको सर्पबाट निकालिएको विषले यो देशका जनता सर्पदंशबाट बाँच्छन् भन्ने विश्वास गरियो भने त्यो आफैंमाथिको धोका हो । काल्पनिक कथामा पनि यस्तो अपेक्षा हुँदैन । राज्यकोष पेवा ठान्ने, जे गर्यो त्यो सदर भन्ने मानसिकता हो भने प्रधानमन्त्रीका नाममा ‘किड्नी प्रत्यारोपण ट्रष्ट’ प्रचण्डका नाममा ‘एन्टी रेबिज भ्याक्सिन ट्रष्ट’ स्थापना गरौं । बीना मगर बुहारी नै हुन मेलम्ची उनकै नाममा पास गरिदिउँ । त्यसो भए एकाध महिनामै पानी झर्ने पक्का हुन्छ ।

संसार डुबाउने क्षमता राख्ने समुद्रले एक थोपा तेल डुबाउन सक्दैन । जिन्दगी आइसक्रिमजस्तै हो, खाएपनि पग्लिएर सकिन्छ, नखाएपनि पग्लिएरै सकिने । नियमको समस्या सहायक, नियतको समस्या प्रधान हो । संसारमा खरावी हावी हुनुको कारण खराव मानिसको आतंक होइन, असल मानिसको मौनता हो । भारतीय राजनीतिज्ञहरु पाकिस्तानलाई व्यंग्य गर्दै भन्ने गर्छन–तिम्रो देशले रक्षा बजेटमा छुट्याउने पैसा त हाम्रा देशका केटाकेटीले नेट चार्जमा खर्च गर्छन् ।

कार्यकर्ता भर्तीकेन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बीउ रोपिन्छ । ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाईं, सालासाली, भाइ भतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन् ।

अमेरिकी सरकार नेपालको बजेटभन्दा हजारौं गुना बजेट आइसक्रिम, कुकुर पालन र हिउँ पगाल्ने नून खरिदमा खर्च गर्छन् । यसो भनेर हामी पनि बत्तिन जरुरी छैन । मनमा आग्रह र दम्भ पालिरहनु भनेको अर्कामाथि फ्याँक्ने उद्देश्यले आगोको कोइला हातमा लिनु जस्तो हो । आखिर जल्ने त आफ्नै हात हो । त्यसैले प्रार्थनाअघि विश्वास गर, लेख्नुअघि सोच, बोल्नुअघि सुन, अन्त्यअघि प्रयाश गर, खर्च गर्नुअघि कमाउ र मर्नुअघि बाँच । शिक्षा स्कुलमा भएपनि दीक्षा घरमै शुरु हुने हो । शास्त्र भन्छ–‘जुन ठाउँमा जीविकाको उपाय, दण्डको भय, लाज, चातुर्य तथा त्याग भाव छैन । त्यस्तो ठाउँमा बस्न उचित छैन ।’ हाम्रो धर्तीलाई यही सत्यको नजिक पुर्याउन सबैको राष्ट्रिय समझदारी छ ।

जब सरकारी नूनमा नेताहरुको सम्झौता बाक्लिदै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन् । कार्यकर्तामा विग्रह बढ्दै जान्छ । जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिष्ट पार्टीभित्रका धमिराले नै यसको इन्जिन स्वाहा पार्ने छन् । मुखियाहरुमा आलोचना खप्ने क्षमता कटौती हुँदै गएपछि असफलताका दिन धेरै टाढा हुँदैन । नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाललाई समयले राजनेता हुने मौका दिएको थियो । तर तीनैजना पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा सीमित भए ।

तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो । भाषणमा कम्युनिष्ट भएर के गर्नु केपी र पीकेको हिँडाई, बोलाई, खुवाई, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ ।

गिरिजाप्रसाद र प्रचण्ड त इमान्दारपूर्वक भन्दा राजनीतिक डनमा सीमित भए । एउटा समय थियो–गिरिजाप्रसाद नेपाली राजनीतिका डिलर थिए । कम्युनिष्टका नेता समेत उनीबाट थोकमा अलिकति किनेर आफ्नो राजनीतिक उद्यम चलाउँथे । तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो । भाषणमा कम्युनिष्ट भएर के गर्नु केपी र पीकेको हिँडाई, बोलाई, खुवाई, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ । सक्षम र योग्य मानिस नजिकै नपार्ने, आलोचना फिटिक्कै मन नपराउने, अयोग्य तर आफ्नो दासलाई जहाँ पनि लैजाने गिरिजापथ यिनीहरुको अन्तिम गन्तव्य बनेको छ ।

बामदेवलाई संसदमा टेकाउन पाएका राजनीति दाउ सबै आफ्नो हातमा आउँछ भन्ने विश्वासमा परेको प्रचण्ड–माधव गठबन्धनका लागि त्यो एजेण्डा थाल खाउँ कि भात खाउँजस्तो भयो । बामदेव कार्ड प्रयोग गरेर प्रधानमन्त्रीले दर्जनौं लहडी निर्णय भ्याइसकेका छन् । यिनीहरुको प्रश्न सोध्ने तागत हराएको छ । बामदेव स्वयं सपथ लिने समयसम्म पुग्दा भुत्ला खुइल्याएको कुखुराजस्तो भएका छन् । एमसीसीदेखि मट्टितेल, भट्टीतेल जुनसुकैको सीसी प्रचण्डका लागि गंगाजल सावित हुनेछ । विरोधका अर्को अध्याय शुरु भएमा भएको बर्दी खोसिने मात्र नभई कानुनको एउटा काउसो भिराएर अपराधी करार हुनुपर्ने त्रासले उनको आधा सातो उँडिसकेको छ । प्रचण्डका छायाँ कृष्णबहादुर महराको पतन यही श्रृंखलाको पूर्वाभ्यास हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सवै अंगका घोषित, अघोषित प्रमुख प्रधानमन्त्री ओली हुन भन्ने नर्सरी पढेको बालकलाई पनि थाहा छ । यहुदी भएकै नाममा विश्वकै ब्रेन मानिने आइन्स्टाइन जर्मनीबाट लखेटिए । त्यो विराट मस्तिष्कले आर्जिएको सम्पत्ति सित्तैमा बेलायतले विना लगानी आर्जन गर्यो । आइन्स्टाइनलाई लखेटेका दिन जर्मनले भनेका थिए–‘आज जर्मनी विश्वयुद्धमा हारेको दिन हो ।’ सत्ता, शक्ति र द्रव्यबाट आर्जित उर्जाबाट मान्छेले सर्वप्रथम गुमाउने भनेकै विवेक हो । पानीको छाल पनि आफ्नो अधिनमा हुनुपर्छ भन्ने उसको भित्री चाहना हुन्छ । जनतायोग्य आफू नभएर आफू योग्य जनता हुनुपर्ने अहंले घर गर्दै जान्छ ।

एउटा जाबो रेसमी किरोले त वर्षौंसम्म मानिसको शरीर सुरक्षा गरेर कीर्ति कायम गर्छ भने विवेकवान मानिसले के गर्न सक्दैन ? सिंहदरबारमा जानेहरु रंगहीन, ढंगहीन भएर खुइलिएर जानुको रहस्य यही हो । इतिहास पढ्ने हो । सुधार्ने त वर्तमान हो ।

केपी ओलीको आँखाले अहिले देशमा रामराज्य देखेको छ । आफूले निर्देशन दिएपछि भ्रष्टाचार छूमन्तर भएको भ्रम छ । भित्तामा भ्रष्टाचार विरोधी नारा लेखेपछि सुशासनको बाढी आएको तर्क कुतर्क शुरु भइसकेको छ । यही कर्मचारीतन्त्रले राजा ज्ञानेन्द्रलाई फुक्र्याएर टीभीमा समाचार पढ्ने अवस्थामा पुर्यायो । लोकमानसिंह प्रवृत्तिलाई सबै दलले जन्तर मानेर ग्रहण गर्दै गए । व्यक्तिले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, उसका वरिपरी कस्ता मानिसको उपस्थिति छ, त्यो मुख्य कारक हो । त्यसैले नेपालका सरकारी पदाधिकारीहरुले आदर्शका क्वीन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ ।

कम्तिमा भाषण लिखित गर्ने परिपाटी बसालिदिनुस् । जिन्दगीभर सामन्तवादको विरोध गर्नुभयो तर विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात गर्नुभएन । त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको कसैले पत्तै पाएन । त्यहाँ पुगेपछि अखिल, नेविसंघ, वाइसीएलको ठाउँ सेना, पुलिस, सशस्त्रले लिए । आपैंmले आपैंmलाई ठूलो बनाएको कानुनको धारा पढेर जथाभावी निर्देशन तर त्यो पालना गर्ने पियन, मुखिया, खरिदारलाई सन्काएर आफ्नो बुई चढाएको बिर्सनुभयो ।

लोभी पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बन्न सकिदैन । एउटा जाबो रेसमी किरोले त वर्षौंसम्म मानिसको शरीर सुरक्षा गरेर कीर्ति कायम गर्छ भने विवेकवान मानिसले के गर्न सक्दैन ? सिंहदरबारमा जानेहरु रंगहीन, ढंगहीन भएर खुइलिएर जानुको रहस्य यही हो । इतिहास पढ्ने हो । सुधार्ने त वर्तमान हो ।

प्रतिक्रिया