मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

खाने भातै हो, जाने घाटै हो !

'इतिहास जित्नेहरुको घोडा'

• संकेत कोइराला

समुद्र किनारमा एउटा बच्चा खेलिरहेको थियो । अचानक हल्का छाल आयो र उसको चप्पल बगाएर लग्यो । यो घटनापछि दुखी हुँदै बच्चाले बालुवामा औंलाले लेख्यो–‘समुद्र चोर हो ।’ त्यहीँ नजिकै एउटा मछुवारा माछा मार्दै थियो । मनग्गे माछा जम्मा गरेपछि प्रफुल्ल भएर उसले लेख्यो– ‘समुद्र पालनहार हो ।’ त्यही समुद्रको एक किनारमा युवाहरुको एउटा समूह पौडीमा रमाइरहेको थियो । अनायास एउटा युवालाई छालले आफ्नो कब्जामा लियो । बाँकी साथी वियोगमा कोकोहोलो गर्दै रुन, कराउन थाले । एउटा साथीले विरक्तिएर लेख्यो– ‘समुद्र हत्यारा हो ।’ समुद्रको अर्को किनारमा एउटा बृद्ध टहलिरहेको थियो । उसको आँखा एउटा चम्किलो वस्तुमा पर्यो । हातमा लिएर हेर्दा त्यो हीरा रहेछ । हत्त न पत्त हीरा गोजीमा राखेर पुलकीत हुँदै बृद्धले लेख्यो– ‘समुद्र दानवीर हो ।’ अचानक समुद्रमा ठूलो आँधी आयो । यी सबै मानिसले लेखेको भावना क्षणभरमै नामेट भयो ।

मान्छेको जीवनमा आँधीजस्तै प्रलय आएपछि विगतका स्मरण बालुवाका अक्षर भएर जान्छन् । मिलन विछोड, घात प्रतिघात, सम्मान तिरस्कार, हारजीत, धनी गरिब, उचनीचका सम्पूर्ण अध्याय समाप्त भएर जान्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण आफ्नै स्वादमा भर पर्छ । भीरमा ज्यान माया मारेर भीरमौरीको मह काढ्ने मानिस भाँडाभरि मह देखेपछि मह काढ्दाको जोखिम बिर्सन्छ । प्रश्रव वेदनाले आधा मृत्यु र आधा जीवन बाँचेकी महिला आफूले जन्माएको बालकको रुवाइसँगै मुर्छाबाट ब्यूँझिएर स्तनपानको मेलोमा लाग्छिन् । त्यसैले त सुख अचार हो भने दुख भात हो । थोरै अचारसँग धेरै भात खाएजस्तै थोरै सपनाले धेरै आश जन्माउँछ । सरकार या संस्थाप्रतिको दृष्टिकोण पनि त्यही नै हो । आज भएन भोलि होला । आफ्नो पालामा भएन, छोराको पालोमा होला । त्यो पनि भएन नातिले त पक्कै सुदिन देख्न पाउला । यदि यसो नभएको भए दशैंमा टीका लगाउँदा बीससय आयुको कामना पक्कै गरिँदैनथ्यो होला । रातो मसीले लेखिएको विदा अंकित पात्रोको कोठाले धेरैको ध्यान खिच्छ । अझ धेरै राता कोठा भएको दिन अझ स्मरणीय हुन्छ । जहाँ राता कोठाको प्राधान्य हुन्छ, त्यहाँ पक्कै दशैं तिहारको बास हुन्छ । दशैं, तिहारले केही न केही अंशमा जीवनरस बोकेको हुन्छ ।

स्वर्ग जाने इच्छामा थुप्रै देवस्थलमा घण्ट बजाइन्छ । निराहार ब्रत बसिन्छ । भाकल गर्ने प्रशस्त हुन्छन् । तर स्वर्ग जाने अवसर आयो भने कोही तयार हुँदैनन् । कसैलाई मानो रोपेर मुरी फलाउने हुटहुटी हुन्छ । कोही सन्तानको जोडी बाँध्ने बाध्यता देखाउँछन् । जोडी बाँधिएकाबाट नातिनातिनाको मुख हेर्ने भोक जाग्छ । यतिले मात्र पुग्दैन, सन्तानको भविष्यका लागि एउटा छानो हालिदिने धेरै नेपाली अभिभावकले आफ्नो कर्तव्य ठान्छन् । अझ देखासिकीको रोग महारोग बनेर उपस्थित छ । सामाजिक सञ्जालसँगै कोरोनाको आतंकले त रिपोर्ट मात्र नभई विचारमै नकारात्मक गतिविधि बढ्दो छ । जति नै फार्तिफूर्ती गरेपनि सुत्ने खाटै हो, खाने भातै हो, जाने घाटै हो नि । त्यसबीचका जोड घटाउ रामछायाँ मात्र हुन् ।

...बाघले आहारामा मृग छोडेको छैन । विरालाको अर्जुनदृष्टिमा मूसा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन । झरी असार साउनमै बर्सिने हो । ठिहीको सामर्थ्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बदलियो । अहँ, बदलिएको समय हैन, हामी हो ।

संकेत कोइराला

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौँ, कोर्ष फेर्न जानेनौँ । त्यसैको असन्तुष्टि अहिले यत्र, तत्र, सर्वत्र पोखिएको हो । पोहोर हिउँदमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको अर्जुनदृष्टिमा मूसा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन । झरी असार साउनमै बर्सिने हो । ठिहीको सामर्थ्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बदलियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका सात अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु ।

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनीयर पाइलट बनाउनमा सोख राख्यौँ । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात्, बाटोले बुढ्याउँछ । पोहोरको बसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन । समय बित्नका लागि मात्र बित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कूल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण दोष ।

महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकहरुको नाउँ कहाँ छ ? रामायणमा ती सवै दानव र बाँदरहरुको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकहरुको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको । नाउँ छ त फगत राम र रावणको । नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा । हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन् । सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो । सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ ।

जीवनको स्वाद प्रकृतिसँग छ । बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ । आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ । घडीको सूईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमसः मान्छेबाट रोबटमा अवतरण भइरहेछ । भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबीच कति फरक होला ? सायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु बस्त्रधारी भएर निस्किएका होलान् । म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान् । आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो । अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो । मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन, तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ । मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ?

संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा हैन, जिब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ ।

संसार आफैँमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ । खानामा हैन, जिब्रोमा स्वाद हुनुपर्छ । आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ । सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ । चराहरु उडिरहेकै छन् । बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन् । आँखाको सिमानाभन्दा विशाल मैदानहरु छन् । त्यही नजिक उठेका हिमालहरु छन् । अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसेभैंm हिमालयहरु छन् । रात खुम्ँिचदै उज्यालो टेक्न पुग्छ । प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति भैंm खुम्चिन र फक्रिन पुग्छ । दिउँसोको स्निग्ध आकाश होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन् ।

सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका पूmलहरु बर्साइरहेका छन् । जति हे¥यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहारहरु त्यसै त्यसै नष्ट भइरहेका छन् । ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने उर्जा प्रकृतिको अजस्र धारा हो, धारा । शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन् । प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नविन अनुभूतिको आलोक खुलिरहन्छ ।

आशावादीहरुका लागि संसार सुन्दर छ । उसको आँखा शिल्पी बनेर उघ्रिन्छ । महात्मा बनेर चिम्लिन्छ । यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ । प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन् । यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ । यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ । यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ । यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन् । कविताको आनन्द लिन पनि आपूmसँग केही कविता हुनैपर्छ । संगीतको धून सुन्न आपूmभित्र तरंग हुनैपर्छ । सात समुद्र पारीबाट आएका पर्यटकहरुले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्वीर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौँ । सौन्दर्य पिउन आपूmभित्र सौन्दर्य हुनुपर्छ । यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैँ निस्सासिएको छ । यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठूलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस् , अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ ।

हामीलाई राजनीतिमा बाडिँदै फुर्सद छैन । हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन् । हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टासिँदैमा फुर्सद छैन् । हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन । निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ ।

[email protected]

प्रतिकृयाहरु
Loading...