गणतन्त्र : छालाको थैलाको गंगाजल

मानिसको धोखाघडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन् । यो निर्णयले आफ्ना सन्तान, दरसन्तान भविष्यका लागि सचेत हुने अघिल्लो पुस्ताका जनावरको विश्वास थियो । चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल (सर्प आकारको माछा) विद्यार्थी थिए ।

पाठ्यक्रम बनाउन एउटा कमिटी गठन गरियो । उड्ने, रुख चढ्ने, पौडी खेल्ने, खन्ने जस्ता विषय सबैका लागि अनिवार्य गरियो । जब चरो खन्नका लागि अग्रसर भयो, उसको चुचो र पखेटा भाँचियो । अन्ततः फेल भयो । पखेटा भाँचिएपछि उड्ने कलामा समेत असफल भयो । रुख चढ्न र पौडी खेल्न त्यसैपनि उसका लागि दुर्लभ छँदै थियो ।

लोखर्के रुख चढ्न उत्कृष्ट भयो । अरु विषयमा गोलखाडी गयो । माछा पौडिन सफल भएपनि पानीबाट बाहिर निस्कन नसकेकाले सबै विषयमा निष्फल भयो । कुकुर स्कुल नै भर्ना भएन । तोकिएको फी पनि तिरेन । बरु भुक्ने कला पनि कोर्समा समावेश हुनुपर्ने माग गर्दै विद्यालय प्रशासनसँग झगडा गर्न थाल्यो ।

खरायो रुख चढ्ने कोशिसमा पछारिँदा पछारिँदा दिमागी सन्तुलन गुमाउन पुग्यो । आफू निपूर्ण रहेको खन्ने कामबाट समेत हात धुनुपर्यो । खरायो कुनै विषयमा पनि सफल भएन । विधिको विडम्बना सबै कुरा गरेजस्तो गर्ने प्रोफाइलमै नरहेको मानसिक रुपमा कमजोर इल कक्षाकै उत्कृष्ट विद्यार्थी ठहरियो । विद्यालय व्यवस्थापन आफ्नो ऐतिहासिक निर्णयमा मख्ख पर्यो ।

तन, मन, जन टुटेको नेपाल कम्युनिष्ट पार्टीलाई फेविकोल लगाउन बनाइएको कमिटीले केपी ओलीलाई यो शताब्दीकै युगपुरुष घोषणा गर्दै उनकै छत्रछायाँमा पार्टीका सम्पूर्ण तह र तप्कालाई बिन्तीपत्र भई पूर्ववत सेवाभावमा लाग्न निर्देश गरेको छ । निर्णयको त्यो पूर्जामा दश औंला मात्र नभई आवश्यक परे बीसै औंलाको छाप लगाउन प्रचण्ड, माधव नेपाल र झलनाथ तयार देखिएका छन् । केही थान मन्त्रीले बाँकीको मुखबुझो लागेको छ ।

नेकपाभित्रको असन्तुष्टिले अब पानीको फोका बराबरको महत्व राख्ने छैन् । प्रतिस्पर्धा समान योग्यता, दक्षता र क्षमताको हुन्छ । जब ओलीले दिएको हात थापेर खाने हैसियत अरु नेताको बन्छ भने त्यो प्रतिस्पर्धा नभएर बर्बराहट हो । समकालिन नेताहरुमा प्रतिशोध साँध्न नामी कहलिएका ओलीसँग अहिले साम, दाम, दण्ड, भेद चलाउने हैसियत छ भन्ने बिर्सनु हुँदैन । 

उनीसँग विधिको सन्दर्भ उठाउनु भैंसीलाई बिन बजाएर आकर्षित गर्न खोज्नुजस्तै हो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरुका लागि भोलि पाउने मुजूरभन्दा आज आफूसँग रहेको परेवा जोगाउनु नै बुद्धिमानी हो । बर्दी खोसिएको एउटा सिपाहीले भोग्ने सामाजिक अपमान कति अत्यासलाग्दो हुन्छ भने यो त हिमालदेखि फेदीसम्म शासन जमाएको पार्टीमा नेता हुनुको रस अर्कै हुन्छ ।

सूर्यबहादुर थापाजस्तो घाघडान नेता एउटा क्लवजस्तो पार्टीमा सीमित हुँदा उनले कमाएको राजनीतिक उचाई नै पुड्को देखिएको इतिहास यी नेताहरुको नाममा नजोडिएकै बेश होला ।

भागवत गीताले खबरदारी लगाउँदै भनेको छ- ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरु थपिन्छ, मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान पनि मै हुँ, सुखी पनि म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन ।’

नेताहरुले बुझ्नुपर्छ- संसारको सर्वाधिक ठूलो औषधि सन्तुष्टि, ठूलो सम्पत्ति बुद्धि, शक्तिशाली हतियार धैर्य र उत्तम सुरक्षा विश्वास हो । यो कुनै पार्टी कार्यालय, सिंहदरबारमा नभएर प्रकृतिमा निःशुल्क पाइन्छ । तर शक्ति, सत्ता र द्रव्य आर्जनका लागि प्रदूषणसँग सम्झौता गर्नुपर्छ ।

विश्व विख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोले भनेकी थिइन्-‘आत्मा साक्षी राखेर भन्ने हो भने म कयौं फिल्मी निर्माताहरुसँग सुतेकी छु । यदि मैले त्यो कुरा इन्कार गरें भने भूmटो हुनेछ । अभिनेत्री बन्न अभिनय, कौशल, प्रतिभा र परिश्रम त हुनैपर्छ तर निर्माताहरुसँग रात विताउनाले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत मिल्नेछ । जब मैले मोडलिङको काम शुरु गरें, यौन सम्बन्ध मेरो पेशाको अभिन्न अंग बन्यो । सवै केटीले त्यो गर्नुपथ्र्यो । नत्र अन्य पच्चीसौं केटी त्यो ठाउँ लिन तयार हुन्थे । निर्माताले फिल्मको कुरा गर्न बोलाउँदा फिल्म बाहेक अरु पनि स्वार्थ हुन्छ ।’

मर्लिन मुनरोको यो अभिव्यक्ति मन, मुटु र मस्तिष्कको आर्तनाद हो । होइन भने आफ्नो समयमा विश्व हल्लाउने यी सुन्दरी निद्रा लाग्ने औषधि खाएर अर्को लोकमा पक्कै प्रस्थान गर्ने थिइनन् । नेपालमा ठूलो मानिस हुन खराब प्रवृत्तिसँग सम्झौता नगरी सम्भव छैन ।

अनुचित लागेको विषयलाई उचितको लेपन लगाएर आत्मालाई धोखा नदिएसम्म ठूलोको मर्म बुझ्न कठिन हुन्छ । राजा त्रिभुवन आश्चर्य मान्दै भन्थे रे–‘के हाम्रा जनता जाबो दूधभात पनि खान पाउँदैनन् त ?’ आखिर जनताका भनिने राजालाई त्यस्तो गुमराहमा कसले राख्यो ? यो प्रवृत्ति अझ दिन दुईगुना रात चारगुनाका दरले बढेको छ ।

सन् १८५३ रुसका जारले तात्कालिन ब्रिटिस राजदूतसँग भनेका थिए–‘हाम्रो छिमेकमा एउटा सार्है रोगी र गरिब मान्छे छ । विचरा कुनै बेला अकस्मात मर्न सक्छ ।’ टर्कीलाई युरोपको रोगी मान्छे भनिन्थ्यो । सन् १८७७ रुसले टर्कीमा आक्रमण गर्यो । तर देशको स्वाधीनता मर्न दिएनन् । राजनीतिज्ञहरुले अमर हुने काम गर्नुपर्छ । न्यायका लागि बोल्न प्रत्येक समय उपयुक्त हुन्छ । रुसमा अन्तिम जारको शासन काल थियो । बाहिरबाट त रुस शान्त देखिन्थ्यो । तर भित्र भित्र नागरिक असन्तोषको आगो दन्किरहेको थियो ।

 

एकपटक सर जर्जले जारलाई सल्लाह दिए–‘महामहिम संसार फेरिएको छ । विशेष कोशिस गरेरै भएपनि यहाँले अब आफ्ना प्रजाहरुको विश्वास जित्नु आवश्यक छ । जारले मुसुक्क हाँसेर प्रतिप्रश्न गरे–‘जर्ज, तर के यो उचित होइन कि मेरा प्रजा आपैंm मेरो विश्वासको लायक बनून ।’ दम्भको यो आगो हाम्रो परिवेशमा पनि सल्किन शुरु भइसकेको छ ।

देश नबन्नुमा तीन करोडकै धेरथोर हिस्सा लाग्छ । कुरै खाने, कुरै सुत्ने, कुरै उठ्ने, कुरै ओढ्ने कुरौटे संस्कृतिलाई समाजले मलजल गरिरहेको छ । समाज नामको नर्सरीमा जुन विरुवा हुर्किन्छ, सिंहदरबारमा गएर त्यही फल्ने फुल्ने हो । आफू बस्ने घर बैंकमा धितो राख्नुपर्यो भने पाँच करोड मोलिन्छ । त्यही घर राज्यलाई कर तिर्नुपर्ने भएमा पचास लाखमा झर्छ ।

भाडाको गाडीमा पाँच रुपियाँ बचाउन हजुरबा नातिपुस्ताको कार्ड बोकेर निर्लज्ज हिँड्छन् । मुलुकको सर्वोच्च न्यायालय दोहोरो सुविधा लिन नपाउने सरकारी नियमको बर्खिलापमा फैसला सुनाउँछ । पूर्व प्रशासकहरु यत्र, तत्र, सर्वत्र नियुक्ति दिएको अवस्थामा मुलुकको ढुकुटी पेन्सन र तलव सकिने अवस्था आउनु मुलुक धुत्ने संगठित अपराधमा मुखियाहरु लाग्नु नै हो ।

मुलुक चलाउनेले कम्तिमा ५० वर्षपछि आउने समयलाई हेरेर निर्णय गर्नुपर्छ । कल्पना गरौं त हाम्रा बा, हजुरबाले कागती, सुन्तला, नासपाती नरोपिदिएको भए हामी ती सबै चीज ट्रकमा फल्छ भन्ने अवस्थामा पुगिसकेका हुन्थ्यौं । पितापुर्खाले चौतारो, हिटीधारो, वनजंगल, गुरुकुल संरक्षण गरिदिएकै कारण राजनीतिको सतहमा रहेको पुस्ता चेतना र प्रज्ञामा धेरथोर पूर्ण भयो । यही नेतृत्वले विगतबाट सिकेर, वर्तमानमा इमान नगुमाई निर्णय गरी भविष्य सबैका लागि सुनिश्चित बनाउन सक्नुपर्छ । हैन भने विशुद्ध जनताका लागि गणतन्त्र, लोकतन्त्र यी सबै छालाको थैलाभित्रको गंगाजल शिवाय केही होइन । 

सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनाबाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ । हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक परिवारमा शान्तिपूर्ण विद्रोहको लाभा उम्लिदैछ । एकातिर प्रत्येक छानोमा तीनपुस्ताको मिलन दुर्लभ बन्दै गएको छ भने अर्कातिर घरलौरी तीनवटा टीभी सेटको जरुरी बढ्नुले पनि सामञ्जस्य, समन्वय, सल्लाह र सम्मानका डोरीहरु चुडिँदै गएका छन् । हरेक पुस्ता आफ्नो समयको बखानमा मस्त छ ।

पहिलो पुस्ता आफ्नै स्वाभिमान र पुर्खाको वर्चस्वमा घमण्ड गर्छ । नयाँपुस्ता जन्मभूमिलाई ट्रान्जिटको रुपमा हेर्छ । जनै लाउने र गुन्यूचोलीबाहेक उसका हरेक योजना युरोप, अमेरिका केन्द्रित छन् । घरव्यवहार, पाहुनापासा, आफन्त उसका नजरमा आँखाका कसिँगर हुन् । दाँत देखाएर ङिच्च हाँस्नु तिनका लागि असभ्य कर्म हो । बरु मोबाइलको किबोर्ड थिच्दै अक्षरको निर्जीव हिहीमा रमाउँदै गएको छ टीनएज पुस्ता ।

घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्ने तिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता भीरको फर्सी बन्न बाध्य छ । सबैलाई थाहा छ-बैंक भनेको त्यस्तो ठाउँ हो, जहाँ बादल लागेको बेला छाता दिइन्छ र पानी पर्दा फिर्ता मागिन्छ ।

हजुरबा, हजुरआमा पुस्तासँगको संगत यो उमेरलाई बिझाउँछ । यी दुई सम्बन्धमा फेबिकोल बन्नुपर्ने बाआमा पुस्ता मरिच चाउरिए भैंm चाउरिएको छ । ७६ जिल्लामध्ये कुनै जिल्लामा भएको आफ्नो भौतिक सम्पत्ति ऐश्वर्य नठान्ने तर जसरी हुन्छ, काठमाडौंमा एउटा टहरो ठड्याउन र सन्तान विदेश पठाउन सके जीवन सार्थक ठान्ने यो पुस्ता न बाउआमा, न सन्तानको प्यारो हुन सकेको छ । बरु घरव्यवहारको भ्वाङ टाल्दाटाल्दै शरीरमा रोगले राष्ट्रिय सहमति गरिसक्दा पनि दुख्न पाएको छैन ।

घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्ने तिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता भीरको फर्सी बन्न बाध्य छ । सबैलाई थाहा छ-बैंक भनेको त्यस्तो ठाउँ हो, जहाँ बादल लागेको बेला छाता दिइन्छ र पानी पर्दा फिर्ता मागिन्छ ।

अरुका अगाडि छोराछोरी युरोप अमेरिकामा भएको भाषण गर्नेहरु नातिनातिनाको निरास मेट्न टमी कुकुरलाई मर्निङवाकको साथी बनाउन बाध्य छन् । युरोप, अमेरिका टेक्नु पर्यो भने छोरीबुहारीको सुत्केरी, सन्तानको दीक्षान्त समारोह जुर्नुपर्ने अवस्था छ । छोराछोरीका नजरमा जन्म दिने बाबुआमा कि कर्म दिने आमाबा प्राथमिकतामा पर्छन त्यसको निक्र्योल डिभी चिट्ठाजस्तै कठोर र अदृश्य छ ।

एउटा प्रधानमन्त्री आफ्नो राजनीतिक सल्लाहकारको योग्यता स्नातकोत्तर तोकेर कानुनी व्यवस्था मिलाउँछ । अर्को प्रधानमन्त्री आउँछ उसले जागिर दिने मानिस स्नातक मात्र भएकाले निर्धारित योग्यतालाई स्नातकमा झार्छ । प्रधानमन्त्रीमा प्रचण्ड आए, उनका सहयोगी विना योग्यताका थिए, अन्ततः त्यो योग्यतालाई पनि शून्यमा बदलिदिए । यो आरोप नभएर यथार्थ हो । अघिल्ला अर्थमन्त्रीले सीएफल चिमको महत्वलाई प्राथमिकता दिएर सरकारको नीति तथा कार्यक्रम ल्याए । अर्का अर्थमन्त्री लिड चिमको पक्षमा उर्लिए । आखिर लिड र सीएफएल चिमप्रति मन्त्रीको बेग्लाबेग्लै मायापिरेम बसेको रहस्यबारे जनता बेखबर भइरहे । यसरी मुलुकलाई अन्तिम भोज बनाउने प्रतिस्पर्धा दिन दुईगुना रात चारगुनाका दरले बढ्दो छ ।

समस्याको जड पढेलेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीमा कुद्न छोड्दैनौं । कुन चाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ-‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एकपैसा पनि घुस ख्वाएको छैन् ।’

कच्चा पदार्थको भन्सार शुल्क कसिन्छ, तयारी सामानको खुकुलो पारिन्छ, अनि आत्मनिर्भरका भाषण फिँज काढेर गरिन्छ । दाल, चामललगायतका खाद्यान्नको आयातलाई भन्सार दरमा कसिलो पारेर एक महिनापछि त्यसको रिजल्ट हेरौं त देशको कुन भूभाग बाँझो बस्छ ? मुलुकका योजनाविद्हरु जँड्याहालाई बाख्रो अनुदान दिने कामबाट गरिबी निवारणको ओखती खोज्छन् । उनीहरुको खाकामा बाख्रो दिएको, त्यसले सन्तान फैल्याएको आँकडा त हुन्छ तर उसले हप्ता दिनमा बोतलको पानी रित्याउन त्यही बाख्री सितनका खातिर ढालेको यथार्थ हुँदैन ।

समस्याको जड पढेलेखेका सभ्य, शिक्षित मानिसबीच छ तर हामी राउटे र चेपाङ बस्तीमा कुद्न छोड्दैनौं । कुन चाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ-‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एकपैसा पनि घुस ख्वाएको छैन् ।’ सवै जागिरेलाई ‘राम्रो’ ठाउँ चाहिएको छ । राम्रो भनेको आमा, श्रीमतीले भात पकाएर खान दिने ठाउँ नभएर घुस खाने ठाउँ भन्ने पुरानो नेपालको बुझाइ नयाँ नेपालमा झन्झन् प्रगाढ बन्दै गएको छ ।

मेनपावर, जग्गा दलाल, बालुवागिटीका खेलाडी, राजश्वमारा व्यापारी, तस्करले राजनीतिक दल र तिनका सयौं भातृसंस्थाको महाधिवेशनको जिम्मेवारी लिनुपरेपछि सुशासन कुन चरीको नाम हो आफैं अन्दाज गर्न सकिन्छ । अहिले अतिवादको नाराले यत्र, तत्र, सर्वत्र विटुल्याएको छ । जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ । मर्न आँटेको बेस्याहार गाईको लाम्टो चुस्न झुत्ती खेलेभैंm देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन ।

चाणक्यले भनेका छन्–‘जुन देशमा आफ्नो सम्मान छैन, अनि जहाँ जीविका चलाउने साधन छैन, जहाँ बन्धुवान्धव छैनन् । जहाँ विद्याध्ययन गर्ने उपाय, दण्डको भय, लाज, चातुर्य र त्यागभाव छैन, त्यस्ता ठाउँमा बास बस्नु हुँदैन । त्यस्तो स्थान छोडेर अन्यत्र गई यी विषयको खोजी गर्नु उपयुक्त हुन्छ ।’ विदेशिएकाहरुले चाणक्यका यही नीति सन्देशलाई शिरमा राखिरहे भने के हुन्छ ?  [email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *