‘ओशो’ बन्दै रवि किशन

एजेन्सी । निर्देशक शकुन बत्राले निर्देशन गर्ने तथा करण जौहरले गुरु ओशो रजनीशको जीवनीमा आधारित रहेर चलचित्र निर्माण गर्ने चर्चा केही वर्ष यता भारतीय सञ्चार माध्यममा चलेको थियो । चलचित्रमा अमीर खान र आलिया भट्ट रहने बताइएको थियो । तर आधिकारिक घोषणा भने भएको थिएन । यहीबिच अमीर खान भन्दा पहिला नै रवि किशन ओशोको भूमिकामा देखिने भएका छन् । बेलजी भाइ गालाको निर्देशन रहने चलचित्रमार्फत उनले अभिनय गर्ने भएका हुन् ।
भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै बेलजी आफू विगत ३०वर्ष यता ओशोको सन्यासी भएको कारण उनको जीवनमा आधारित चलचित्र दर्शकसामु पुर्या उन आतुर रहेको बताउँछन् । ओशोको नजिक रहेर धेरै समय बिताएको कारण चलचित्र बनाउन सहज हुने उनको विश्वास छ ।
ओशोसँग जोडिएका मुख्य तीन समयको कथा चलचित्र मार्फत देखाउने योजना निर्माण टिमको रहेको छ । जसका लागि तीन अलग कलाकार जयेश कपूर , विवेक मिश्र र रवि किशनलाई उनले चुनेका छन् । अमेरिका गएको समय ओशोलाई विष सेवन गराइएको भूमिकामा रवि देखिँदै छन् । केही कलाकारलाई रवि भन्दा अघि पनि लिने सोचिएको थियो । तर उक्त चरित्रका लागि रवि भन्दा लायक अरू देखिएनन् ।
चलचित्र यही वर्षको अप्रिल-मे मा प्रदर्शनको तयारी गरिएको छ । कपि राइटलाई कारण देखाउँदै चलचित्रको शीर्षकमा भने ’ओशो’ शब्द प्रयोग गरिएको छैन ।








