घान्द्रुकमा ‘सिनेमा संवाद’ सम्पन्न

काठमाडौं । कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको आयोजनामा मङ्गलवार भएको कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य सम्बन्ध र साझेदारी’ बारे छलफल चलेको थियो ।
छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजम सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरेका थिए ।
दोस्रो सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ मा यस्तै विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरूमा कलाकार दीपकराज गिरी, लेखक गणेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए । वक्ताहरूसँग सहजकर्ता डिसीले साहित्यिक कृतिमाथि बनेका फिल्महरूको समीक्षा अनुभवबारे प्रश्न गरे ।
कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात् खुलेको पर्यटन र चलचित्र क्षेत्रको प्रचारप्रसारका लागि आफूहरूले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए ।  कार्यक्रम घान्द्रुकको गुरुङ कटेजमा गरिएको थियो । स्वागत मन्तव्य किसम गुरुङले राखेका थिए भने सञ्चालन सचिव प्रभु अधिकारीले गरेका थिए ।
सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग गरेको थियो ।
प्रतिक्रिया